सशस्त्र प्रहरीको पूर्व–पश्चिम झन्डा मार्च सिराहा प्रवेश

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

२५औँ स्थापना दिवस (रजत महोत्सव) को सन्दर्भ पारेर सशस्त्र प्रहरी बल नेपालले एक साताअघि पूर्वी सीमा मेची पुलबाट थालेको ‘पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम’ आइतबार सिरहा प्रवेश गरेको छ । 

कोशी प्रदेशअन्तर्गत पूर्वको झापा, मोरङ र सुनसरी हुँदै गत शुक्रबार मधेश प्रदेशको सप्तरी आएको मार्च आइतबार मध्यान्ह सिराहाको बलान नदीबाट सिरहा प्रवेश गरेको हो । झन्डा मार्च सिरहा प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरी बल ६ नम्बर गण हेडक्वाटर सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रोशन बुढाथोकीले सशस्त्र प्रहरीको झन्डा ७ नम्बर गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक नरेश भण्डारी र नेपालको राष्ट्रिय झन्डा सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई हस्तान्तरण गरे। 

७ नम्बर गण हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार सशस्त्र प्रहरीको झण्डा प्रहरी बलको स्थापना दिवसको सन्दर्भ पारेर पूर्व मेची र पश्चिम महाकालीबाट एकै दिन हिँडेको ‘झण्डा मार्च’ आगामी ७ माघमा चितवनको ठोरीमा एकतृत हुँदैछ । ‘झण्डा मार्चको क्रममा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण सेवा समर्पण र बलिदानलाई स्मरण गरिरहेका छौं,’ उनले भने, ‘संगठनभित्र एकता, समन्वय र टोली भावना सुदृढीकरणका लागि केन्द्रित भएका छौं ।’

उनका अनुसार झण्डा मार्चको रुटमा पर्ने भारतीय समकक्षी सीमा रक्षक बलसँग शुभकामना आदानप्रदानसँगै दसगजा क्षेत्रमा संयुक्त पेट्रोलिङ गरिने जानकारी दिए । झण्डा मार्च हरेक जिल्लामा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोलीले राष्ट्रिय र सशस्त्र प्रहरी बलको झण्डा बुझेपछि अर्को जिल्लाको टोलीलाई हस्तान्तरण गर्दै ठोरीसम्म पुग्ने उनले बताए । 
 

सुझावित समाचार