स्थानीयलाई खुकुरी प्रहार गर्ने क्रममा प्रहरीले रंगेहात नियन्त्रणमा लिएको पोखराका महानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले कारबाहीविनै छाडेको छ ।
पोखरा–३३ स्थित झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माणका विषयमा भएको विवादको क्रममा सोही वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीले वडामा भेला भएका स्थानीयलाई गत शुक्रबार खुकुरी प्रहार गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिए पनि कसैबाट उजुरी नआएको भन्दै छाडिदिएको हो ।
झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माणको विपक्षमा रहेका स्थानीयले शुक्रबार वडामा नाराबाजीसँगै वडा कार्यालयको गेट र वडाध्यक्षको कार्यकक्षमा तला लगाएका थिए । तालाबन्दी गरेपछि गाडीमा आएका वडाध्यक्ष र जम्मा भएका स्थानीयबिचमा विवाद भएको थियो । विवादकैबिच ज्याकेटभित्रबाट खुकुरी निकालेर वडाध्यक्षले प्रहार गर्न खोजेका थिए । ‘अघि बिहान कुरा गरेर गएको हैन, अनि किन तालाबन्दी र नाराबाजी गरेको, को हो यहाँ ताला लगाउने, नराबाजी गर्ने देखाइदिऊँ?’ भन्दै खुकुरी निकालेर प्रहार गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वडाध्यक्षले खुकुरी प्रदर्शन गरेपछि सुरक्षाको माग गर्दै स्थानीयवासी शुक्रबारै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भन्छन्– कसैबाट जाहेरी नआएपछि छाडेको हो
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले वडा अध्यक्षविरुद्ध कसैले जाहेरी नदिएको कारण छाडेको बताएको छन् । उनले भने, ‘हामीले वडा अध्यक्षलाई खुकुरीसहित घटनास्थलबाट नियन्त्रणमा लिएको हो, नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणलगायत काम पनि गर्याै । हामीले २४ घण्टा हिरासतमा पनि राख्यौ । २४ घण्टाभन्दा बढी समय नियन्त्रणमा राख्ने हामीलाई अधिकार छैन् । यसबिचमा कसैबाट जाहेरी नआएपछि आफन्तको जिम्मा लगाएर छाडेको हो ।’
उनले उजुरी आएमा अझै पनि कारबाही गर्न सकिने बताए । वडाध्यक्षले पनि बयानका क्रममा आफूले खुकुरी नल्याएको र आफैँमाथि प्रहार गर्न लाग्दा समाएको मात्रै बताएको बस्नेतले बताए । उनले भने, ‘हामीले सिसिटिभि फुटेज हेरिरहेका छौँ, वडाध्यक्ष दोषी देखिए नियन्त्रणमा लिएर कारबाही प्रक्रिया फेरी अघि बढाउँछौँ।’
वडाध्यक्ष छुटेपछि स्थानीयमा त्रास
प्रहरी नियन्त्रणबाट वडाध्यक्ष छुटेपछि सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीय त्रसित बनेका छन् । स्थानीय भन्छन्–आफैँले मत दिएर जिताएका वडाध्यक्षले खुकुरी प्रहार गर्लान् भन्ने कल्पना पनि गरेका थिएनौँ । वडाध्यक्षले अब भोलि पनि यस्तै नगर्लान् भन्न सकिँदैन । भोलि वडाध्यक्षले गलत गरे पनि प्रश्न गर्न सक्ने अवस्था रहेन ।
ल्यान्डफिल साइट निर्माणाधीन जग्गा खरिद बिक्रीको विषयमा बिचौलिया प्रवेश गरेका कारण पनि समस्या आएको हो । जग्गाधनीसँग सस्तोमा जग्गा बैना गरी महँगोमा महानगरलाई बिक्री गर्न केही बिचौलिया सक्रिय रहेकाले समस्या भएको स्थानीयको आरोप छ ।
यसअघि पोखरा–१४, बाच्छे बुडुवामा पोखराको ल्यान्डफिल साइट रहेकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द भएको थियो । सञ्चालनमा रहेको ल्यान्डफिल साइट बन्द भएपछि पोखराको फोहोर अस्थायी रूपमा ६ महिना समय तोकेर पोखरा–३२ स्थित लामेआहालमा फाल्न सुरु गरिएको थियो । ६ महिनाका लागि भनिएकोमा करिब साढे तीन वर्ष हुन लाग्दासमेत स्थायी साइड तयार हुन सकेको छैन् । फोहोर लामेआहालमा फालिँदै आएको छ, स्थानीयले समय समयमा विरोधसँगै फोहर ढुवानीमा अवरोध गर्दै आएका छन् ।
झाँक्री खोलामा ल्यान्डफिल साइट निमाण गर्ने योजना पोखराले दुई वर्षअघि सुरु गरेको थियो । विवादसँगै अन्य कारणले काम अघि बढ्न सकेको थिएन। सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्ने गरी ‘टेरासोल्भ रिन्युवल नेपाल प्रालि’सँग गत २ मंसिरमा झाँक्रीखोलामा ८० करोड लागतमा ल्यान्डफिलसहितको प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले सम्झौता गरेको थियो । आगामी २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र २५ वर्ष पोखराको फोहर व्यवस्थापन गर्ने गरी योजना बढाइएको हो ।
एक साताअघि स्थानीय ल्यान्डफिल साइट निर्माण सम्झौताबारे जानकारी लिन महानगर कार्यालयमा गएका थिए । महानगरमा गएर जानकारी लिएर आएका स्थानीय शुक्रबार वडा कार्यालयमा विरोधका लागि जाने क्रममा विवाद भएको हो । झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माणको योजना महानगरले अघि सारेको समयदेखिनै स्थानीयमा पर्ने प्रभावहरूजस्तै स्वास्थ्यमा, दुगन्ध फैलने, स्थानीय वातावरण पर्ने प्रभाव, फोहोरलगायतका कारण विषयमा विरोध हुँदै आएको छ । स्थानीयले कुनै पनि हालतमा ल्यान्डफिल साइट निर्माण गर्न नदिने र यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको भन्दै उनीहरूले चेतावनी दिँदै आएका थिए । तर, महानगरले स्थानीयको सहमतिविनै सुटुक्क काम अघि बढाएपछि विवाद बढ्दै गएको हो ।