अछाम जिल्लाका महिलाहरू अझै पनि हिंसा, अपराध र अन्यायका घटना खोल्न मान्दैनन् । उनीहरू काट्ने, मार्नेजस्ता धम्की र कुटपिटका घाउ लुकाएर बस्न बाध्य छन् ।
श्रीमान्, सासूससुरा र परिवारका अन्य सदस्यको कुटाइबाट टाउको, खुट्टा र शरीरका अन्य भागका गम्भीर चोट ल्याएर अस्पताल आइपुग्ने सबै महिलाहरू सुरुमा लडेर चोट लागेको बयान दिन्छन् । तर, सोधपुछ गर्दै जाँदा यस्ता अधिकांश घटना लडेर नभई श्रीमानको कुटाइबाट घटेको तथ्य पुष्टि हुन थालेको जिल्ला अस्पताल अछामस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की सम्पर्क व्यक्ति गंगा बुढामगरले बताइन् ।
जिल्लाको दुर्गममा रहेको तुर्माखाँद गाउँपालिकामा आयोजित जिल्लास्तरको सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिको बैठकमा मंगलसेनका नगर प्रमुख पदमबहादुर बोहरा, तुर्माखाँदका अध्यक्ष डम्बरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाललगायत सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘पछिल्ला १७ महिनामा यस्ता ४६६ घटना घटे । उनीहरूलाई खुल्दा पनि समस्या नखुल्दा पनि समस्या छ । भन्नुस् अब यसको समाधान के हो ?’
बुढामगरसहित तुर्माखाँदका स्वास्थ्य शाखा प्रमुख एकेन्द्रबहादुर बयक, समविकास नेपालका कार्यक्रम संयोजक पवन गिरी र सुरक्षित आवास गृह मंगलसेनकी मनोविमर्शकर्ता ललिता रावलले राखेका छाउपडी, बालविवाहलगायत महिलाकेन्द्रित हिंसा, अपराध र अन्यायको अवस्था एवं चुनौतीबारे तथ्यहरू सुनिसकेपछि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसीले जिल्लास्तरमा गठन गरिएको सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिले समाजमा गुम्सिएर रहेको महिला हिंसाको आकार र स्वरूपबारे बहस सुरु गरे पनि यसबाट उब्जेका समस्या समाधानका उपाय तथा कार्यान्वयनमा अनिश्चय देखिएको भन्दै यही खालको सक्रियताले अवस्था सुधार हुनेमा चिन्ता थपिएको बताए । ‘यति ठुलो समस्या सुधार अभियान थालेका छौँ,’ उनले भने, ‘बैठकमा नआउने कुनै चासो पनि नराख्ने हो भने यो तरिकाले हामी सफल हुन सक्दैनौँ ।’ उनले दीर्घकालीन महत्त्वका रूपमा यो अभियान अघि नबढाइएसम्म छाउपडी, बालविवाह, जातीय विभेद र अन्य कुसंस्कार रोक्न नसकिने र जसले महिलाहरू थप हिंसा, अपराध र अन्यायको भुंग्रोमा परिरहने बताए ।
गरिबी र अशिक्षाले गाउँका महिला अझ बढी पीडामा रहेको भन्दै तुर्माखाँद– ४ का वडाध्यक्ष पदमबहादुर विसीले दुर्गमबाट यसबारे चेतना विस्तार गर्न माग गरे । जसका लागि जिल्लाका १० वटै स्थानीय तह र अन्य सरोकारवालाहरूले सहयोग गर्नुपर्ने उनले बताए । बैठकमा हिंसा प्रभावित महिलाहरूका लागि सुरक्षित आवास गृह मंगलसेनलाई तुर्माखाँदले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धतापत्रसमेत हस्तान्त्रण गरेको थियो ।
समविकास नेपालको समन्वय तथा सहजीकरणमा समितिले यसअघि जिल्लाको कमलबजार, चौरपाटी र ढकारीमा यस्तै छलफल गरिसकेको छ । तुर्माखाँदमा सम्पन्न चौथो बैठकपछि अब पाँचौँ बैठक जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा बस्नेछ ।