नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको स्पष्ट पारिएको छ ।
कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधान विपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।
विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासनको पालना गर्न आह्वान गरिएको छ ।
यसैगरी, मिति २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा २०८२ फागुन २ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा चुनावी अभियानमा जुट्न आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्तिमा महोत्तरी जिल्ला सभापति नागेश्वरप्रसाद यादव, सप्तरी जिल्ला सभापति रामदेव शाह, सर्लाही जिल्ला सभापति डा. सरोजकुमार यादव, बारा जिल्ला सभापति राजेशराय यादव, सिराहा जिल्ला सभापति रामचन्द्र यादव, रौतहट जिल्ला सभापति सुनीलकुमार यादव, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री तथा धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले हस्ताक्षर गरेका छन् ।
यसैबीच बारा जिल्ला कार्यसमितिले विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेको छ । जिल्ला कार्यसमितिका सचिवद्वय राजेश रौनियार र भैयाराम यादवले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा अनिवार्य उपस्थितिका लागि जिल्लाका प्रतिनिधिहरुसंग शुक्रबार आग्रह गरेका हुन । कांग्रेस बारामा सभापती राजेश राय यादव र सचिवबिच लामो समयदेखि मतभेद रहँदै आएको छ ।
सभापती रायले विशेष महाधिवेशनको विपक्षमा र सचिवहरु पक्षमा रहेका छन । विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्दै छ ।