निर्वाचन प्रहरी बन्नेहरूको भिड (फोटोफिचर)
निर्वाचन प्रहरी (म्यादी) प्रहरीका लागि आजदेखि आवेदन खुलेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षामा खटाइने म्यादी प्रहरीका लागि आजदेखि आवेदन प्रक्रिया सुरु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि आवेदन दिने मानिसहरूको भिड बढेको छ।
माघ १ देखि चेकबाट पाँच लाखसम्म मात्र नगद निकाल्न पाइने
माघ १ गतेदेखि चेकमार्फत पाँच लाख रुपैयाँसम्म मात्र नगद निकाल्न पाइने भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनलाई बलियो बनाउन भन्दै सरकारले गत महिना यससम्बन्धी निर्णय गरेको थियो । जसलाई नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ।
सरकारको निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएको थियो। सोहीअनुसार कार्यान्वयनमा लगिएको हो।जसअनुसार अब पाँच लाखभन्दा धेरैको नगद कारोबार अवैध हुनेछ। हाल १० रुपैयाँसम्म नगद कारोबारको सीमा थियो।
माघ ३ बाट निर्वाचन आचारसंहिता लागू हुने
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रिपरिषद् सदस्यहरूसँग भएको छलफलका क्रममा आयोगले आचारसंहिता कार्यान्वयनबारे जानकारी गराएको हो। आयोगका अनुसार निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ र हालसम्मका काम सन्तोषजनक चरणमा पुगेका छन्।
प्रधानमन्त्री कार्कीको उपस्थितिमा भएको छलफलमा निर्वाचन आयोगले अहिलेसम्म सम्पन्न तयारी र बाँकी रहेका कार्यबारे विस्तृत जानकारी गराएको थियो।
इसेवामार्फत ५६ लाख ठगी गर्ने १९ वर्षीय युवक पक्राउ
कम्पनीको कागजात दुरुपयोग गरी इसेवामार्फत कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका– ७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
वाइड स्पेस इन्टरनेसनल प्रालिका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बरलगायतका कागजातहरूको दुरुपयोग गरी उनले इसेवा मर्चेन्ट वालेट र इसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गरेका थिए।
हाँडीगाउँको प्राचीनता फर्काउन ६३ वटा घरको मोहडा परिवर्तन गरिने
हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौं महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम अघि बढाइएको छ । यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब तीन सय नौ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहडालाई मौलिक स्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको महानगरपालिकाले जनाएको छ।
नेपाल–भारत सुरक्षा अधिकारीबिच चुनावलक्षित बैठक, शान्तिसुरक्षामा सहकार्य गर्ने सहमति
आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई लक्षित गरेर कैलालीमा नेपाल–भारत सुरक्षा अधिकारीबिच छलफल भएको छ। दुई देशका सीमावर्ती क्षेत्रका उच्च सुरक्षा अधिकारी सहभागी बैठकमा निर्वाचन सुरक्षासँगै सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा छलफल भएको छ।
अर्थतन्त्र सुधार नभएसम्म विदेश भ्रमण नगर्ने शिक्षामन्त्री पुनको घोषणा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको आर्थिक अवस्था सुधार नहुँदासम्म मन्त्रीको हैसियतमा विदेश भ्रमण नगर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले वैदेशिक भ्रमणले मात्र मुलुकको अर्थतन्त्र सुदृढ नहुने स्पष्ट पारेका हुन्। उनले यसअघि तीनवटा अन्तर्राष्ट्रिय कार्यक्रमका निमन्त्रणा आए पनि आफू सहभागी नभएको र हाल थप दुईवटा निमन्त्रणा प्राप्त भए पनि नजाने निर्णय गरेको जानकारी दिएका छन्।
काठमाडौंबाट चुनाव लड्ने आशिका तामाङको घोषणा
अभियन्ताका रूपमा चर्चित आशिका तामाङले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ वा ९ मध्येबाट चुनाव लड्ने निर्णयमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्।
कुनै दलमा आबद्ध नभई स्वतन्त्र रूपमा चुनाव लड्ने उनको घोषणा छ ।
गाँजा बेचबिखनको आरोपमा आमाछोरासहित तीनजना पक्राउ
लागुऔषध गाँजा बेचबिखन गरेको आरोपमा प्रहरीले भारतीय महिला र उनका छोरासहित तीनजनालाई पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका– १५, रानीमा रहेको होटेलकी सञ्चालक भारतीय महिला कविता यादव र उनका छोरा मुन्ना यादवसहित जहदा गाउँपालिका– १ का मञ्जितकुमार यादव सात किलो १८० ग्राम गाँजासहित पक्राउ परेका हुन्।
सल्यानमा बाघको आक्रमणबाट महिलाको मृत्यु
सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको कालीमाटी गाउँपालिका– ७, पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शुक्रबार बिहान घरनजिकैको हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी रावतलाई बाघले आक्रमण गरेको थियो।
प्रहरीको टोलीले खोजी गर्ने क्रममा घरदेखि करिब पाँच सय मिटरको दूरीमा जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।