हाँडीगाउँको प्राचीनता फर्काउन ६३ वटा घरको मोहडा परिवर्तन गरिने

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौं महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम अघि बढाइएको छ । यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब तीन सय नौ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहडालाई मौलिक स्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको  महानगरपालिकाले जनाएको छ।


ढुंगा बिछ्याउनेसहितको यो कामका लागि नाै करोड ७३ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग नाै करोड ४५ लाख रुपैयाँमा सम्झौता गरिएको छ । यस मार्गमा मोहडा परिवर्तन गर्नुपर्ने ६३ वटा घरमध्ये नाैवटाको स्थानीय आफैँले परिवर्तन सुरु गरिसकेका छन् । 

परिवर्तनअन्तर्गत पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनरुत्थान गर्न लागिएको छ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भाग महत्त्वपूर्ण मानिन्छन् । घरको गाह्राेमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुनेछन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुइँगल गरी चार तला तथा छानासहितको घर मौलिक घरको डिजाइन हो ।  

किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छविकालीन नारायण जात्रासहित वर्षौँदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुईवटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षयतृतीयाका दिन सर्वतपानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरू छन् । यस क्षेत्रलाई वडाले हरेक शनिबार सवारीसाधन प्रवेश निषेध क्षेत्र बनाएर परम्परागत उत्पादनहरूको प्रदर्शनी तथा मेला सञ्चालन गर्दै आएको छ । यसरी सञ्चालन हुने मेलामा ६५ वटासम्म प्रदर्शनी कक्ष हुने गरेका छन् । अहिलेसम्मको औसत आर्थिक क्रियाकलापमा दिनको ३३ लाख रुपैयाँसम्मको कारोबार भएको तथ्यांक छ । 

‘यो क्षेत्र उपत्यकामा पूर्वलिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थान हो,’  ५ नम्बर वडाका वडाध्यक्ष वीरेन्द्र प्रजापति  भन्छन्, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो । यो क्षेत्रमा भएका भवनहरूलाई परम्परागत शिल्प र शैली देखिने बनाउने, सडकमा ढुंगा छाप्नेसहितका काम गर्दैछौँ ।’ प्रजापतिका अनुसार नरःदेमा इसापूर्व दोस्रो शताब्दीको पुरातात्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरूको जग भेटिएका छन् । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्वलिच्छविकालका मन्दिरका अवशेष पाइएको छ ।  उनी भन्छन्, ‘यसैका आधारमा सहरलाई पुनरुत्थान गरिनेछ ।’  

प्रजापतिका अनुसार वडाभित्र करिब ५५ करोड रुपैयाँभन्दा धेरै लागतका ठुला योजनाहरू सञ्चालनमा छन् । यसमध्ये सानो गौचरणको फुटबल स्टेडियम करिब १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदै छ । व्यक्तिको कब्जामा पुगेको सार्वजनिक जग्गा फिर्ता गरेर पार्क निर्माण गरिँदै छ । यस प्रकृतिका पार्कहरूमा करिब ६ करोड ५० लाख रुपैयाँमा स्केटबोर्ड पार्क, करिब दुई करोड १५ लाख रुपैयाँमा भत्केको पुलमा स्पोर्टस् पार्क निर्माण भइरहेको छ । करिब एक करोड २५ लाख रुपैयाँ लागतमा सामुदायिक भवन, करिब ८० लाख रुपैयाँमा नरबुद्ध विहार,  करिब पाँच करोड २४ लाख रुपैयाँमा गहना पोखरी पुनर्निर्माण भइरहेका छन् । 

धोबीखोला करिडोरमा करिब २० लाख रुपैयाँ लागतमा पार्क निर्माण हुँदै छ । यस्तै, खहरे धोबीखोला दोभानमा ६० लाख रुपैयाँमा पार्क निर्माण हुँदै छ । करिब १० करोड रुपैयाँ लागतमा भित्री सहरी क्षेत्रमा ढुंगा छाप्ने, दुई करोड ५० लाख रुपैयाँमा धनगणेश मन्दिर र पार्क पुनर्निर्माण, भीमसेन स्थानमा करिब एक करोड ७५ लाख रुपैयाँमा फल्चासहितको पुस्तकालय, करिब ३५ लाख रुपैयाँमा पञ्चेधारा, करिब ५० लाख रुपैयाँमा धनगणेश सत्तल, तीन करोड रुपैयाँ मैतीदेवी पञ्चकुमारी द्यःछेँ, ४० लाख रुपैयाँमा वडा भवन पुनर्निर्माण भएका छन् । करिब एक करोड ५० लाख लागतमा वडाभित्रका विभिन्न फल्चाहरू पुनर्निर्माण भइरहेका छन् ।  

गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्णमन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) र द्योछें (दथु टोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको बडापत्र रहेको डबली, न्याल्मलोंह र (चौखटको चोक्ट्या नारायणको चोक र कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् । 

यस क्षेत्रलाई मौलिक बनाउन अन्य वडाबाट प्रवेश गर्ने नाकाहरूमा प्रतीक चिह्न राख्ने योजना रहेको वडा सदस्य शशी थापाले जानकारी दिए । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्त्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको स्वरूपलाई कायम राख्न कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ। 
 

सुझावित समाचार