निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रिपरिषद् सदस्यहरूसँग भएको छलफलका क्रममा आयोगले आचारसंहिता कार्यान्वयनबारे जानकारी गराएको हो। आयोगका अनुसार निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ र हालसम्मका काम सन्तोषजनक चरणमा पुगेका छन्।
प्रधानमन्त्री कार्कीको उपस्थितिमा भएको छलफलमा निर्वाचन आयोगले अहिलेसम्म सम्पन्न तयारी र बाँकी रहेका कार्यबारे विस्तृत जानकारी गराएको थियो।
बालुवाटारमा सम्पन्न उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, मुख्यसचिव सुमनराज अर्याललगायत उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू जानकी तुलाधर र सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतसहित सम्बन्धित अधिकारीहरू बैठकमा सहभागी थिए।