शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको आर्थिक अवस्था सुधार नहुँदासम्म मन्त्रीको हैसियतमा विदेश भ्रमण नगर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले वैदेशिक भ्रमणले मात्र मुलुकको अर्थतन्त्र सुदृढ नहुने स्पष्ट पारेका हुन्। उनले यसअघि तीनवटा अन्तर्राष्ट्रिय कार्यक्रमका निमन्त्रणा आए पनि आफू सहभागी नभएको र हाल थप दुईवटा निमन्त्रणा प्राप्त भए पनि नजाने निर्णय गरेको जानकारी दिएका छन्।
मन्त्री पुनले देशको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा प्रधानमन्त्री वा अर्थमन्त्री जो आए पनि ठोस प्रगति गर्न कठिन हुने उल्लेख गरेका छन्। ‘देशको अर्थतन्त्र नसुध्रिएसम्म कुनै पनि योजना कार्यान्वयन गर्न सम्भव हुँदैन, किनकि विकासका लागि स्रोत आवश्यक पर्छ’ भन्दै उनले विदेश भ्रमणले अर्थतन्त्र बन्ने हो र ? भन्ने प्रश्नसमेत उठाएका छन्।
उनका अनुसार इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म आयोजना हुने मन्त्रिस्तरीय बैठक तथा साउदी अरेबियामा मे ३ देखि ४ तारिखसम्म हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आएको थियो। ती दुवै कार्यक्रमका निमन्त्रणापत्र उनले सार्वजनिकसमेत गरेका छन्।
देशको आर्थिक यथार्थलाई प्राथमिकतामा राखेर निर्णय लिएको मन्त्री पुनको भनाइ छ।