महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा २७ र २८ पुसका लागि आयोजना गरिएको विशेष महाधिवेशन रोक्न कांग्रेस संस्थापन पक्षले ‘काउन्टर’ भेला डाकेको छ । विशेष महाधिवेशनलाई विधानविपरीत भन्दै केन्द्रदेखि तल्लो तहका नेता–कार्यकर्ता र महाधिवेशन प्रतिनिधिसम्मलाई आन्तरिक सर्कुलर गरिरहेको संस्थापनले २७ र २८ पुसमै क्रमशः युवा र जिल्ला सभापतिहरूको भेला काठमाडौंमै आह्वान गरेको हो ।
तरुण दलको आयोजनामा २७ पुसमा युवा भेला र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा २८ पुसमा जिल्ला सभापतिहरूको भेला बोलाएको छ । विशेष महाधिवेशन पक्षधरले यसलाई मुठभेडलक्षित भन्दै आपत्ति जनाएको छ । तर, संस्थापनले युवा र सभापतिहरूको भेला पार्टी नेतृत्वको आह्वानमा नभई स्वस्फूर्त हुन लागेको दाबी गरेको छ । संस्थापन पक्षका नेता एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला सभापतिहरूले स्वस्फूर्त रूपमा आफैँले भेटघाटको कार्यक्रम आयोजना गरेको जानकारी पाएको बताए ।
‘पार्टी नेतृत्वले भेला बोलाएको छैन । पार्टीले औपचारिक रूपमा बैठकबाट निर्णय गरेकै छ । सभापतिहरूले छलफल गर्न खोज्नुभएको होला । युवाहरूले पनि बसेर छलफल गरौँ, परिस्थितिबारे समीक्षा गरौँ भन्नुभएको होला,’ उनले भने, ‘आफैँ सहभागी भएको बैठकले गरेको निर्णय मान्दैनौँ भन्न पाइने, अनि स्वस्फूर्त रूपमा हामी पनि छलफल गर्छौँ भनेर कसैले प्रयास गर्दा कसरी मुठभेड हुन्छ ?’
विशेष महाधिवेशनको तयारीमा सक्रिय केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टी संस्थापन पक्षले मुठभेड निम्त्याउन खोजेको र वैधानिक रूपमा विशेष महाधिवेशनमा होमिएका नेता–कार्यकर्ताको अपमान गर्न खोजेको आरोप लगाए । ‘हामी विगतमा राजाको निरंकुशतासँग डराएनौँ, हाम्रो वैधानिक आवाजलाई कुल्चिन खोज्ने अवैधानिक प्रयासको विरोध गर्छौँ,’ उनले भने, ‘नेतृत्वको रवैयाले पार्टीमा मुठभेड बढाउनेछ, हामीलाई स्वीकार्य छैन ।’
बिहीबार साँझ बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला बोलाइएको भन्दै त्यो औचित्यहीन र असंवैधानिक रहेको व्यहोरा प्रस्ताव गरेका थिए । बैठकमा उपस्थित महामन्त्री थापाले उक्त प्रस्ताव ठाडै अस्वीकार गर्दैै विधानले दिएको महाधिवेशनको अधिकारलाई विधानसम्मत नभएको भनेर अपव्याख्या नगर्न चेतावनी दिएका थिए । तर, अधिकांश सहभागीले खड्काको प्रस्तावमा समर्थन गरेपछि बैठकले विशेष महाधिवेशन फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको थियो । जसमा महामन्त्री थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले प्रतिवाद गर्दै विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बैठकपछि महामन्त्री थापाले पत्रकारहरूसँग भने, ‘कार्यवाहक सभापतिको प्रस्ताव सहमति गर्न सकिने अवस्थाको छैन । नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने उहाँको प्रस्ताव विधानको खिलाफमा छ । पार्टी विधानको अपव्याख्या नगर्नुस् भन्ने कुरा राखेको छु ।’ उनले केन्द्रले नबोलाएको अवस्थामा विशिष्ट परिस्थितिमा महाधिवेशन बोलाउने अधिकार हस्ताक्षरकर्ता सदस्यहरूलाई हुने पनि बताए ।
‘एउटा संख्याले विशेष परिस्थितिमा अधिवेशन वा साधारणसभा बोलाउने अवस्था बैंक वा सहकारीहरूमा पनि हुन्छ, पार्टीमा नहुने भन्ने प्रश्नै छैन,’ थापाले भने, ‘विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेको अवस्थामा विशेष महाधिवेशन गर्नैपर्छ । केन्द्रीय कार्यसमितिले आयोजना गरेन भने कसले गर्छ ? मागकर्ताले नै गर्छ । त्यसकारण यसमा पार्टी सभापति सहभागी हुनुपर्छ भन्ने कुरा मैले कार्यवाहक सभापतिमार्फत सभापतिलाई पनि भनेको छु ।’ सभापति देउवा विशेष महाधिवेशनमा सहभागी भए उनकै माद बढ्ने पनि बताए । उनले थपे, ‘यो परिस्थितिको समाधान भनेको विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिनुपर्छ । यही नै समाधान हो ।’
यसैबीच, विशेष महाधिवेशनका लागि सचिवालयले तयारी तीव्र पारेको छ । विभिन्न १८ समितिले विशेष महाधिवेशनका लागि तयारी अघि बढाएको र शुक्रबारबाट भृकुटीमण्डपमा मञ्च निर्माण सुरु गर्न लागेको कांग्रेस नेता बलदेव तिमल्सिनाले बताए । ‘विशेष महाधिवेशनमा पार्टी विधान संशोधन, निर्वाचन घोषणापत्रमा के गर्नुपर्छ भन्ने सुझावका लागि पार्टीनिकट विज्ञ र बुद्धिजीवीहरूको बैठक शुक्रबार बोलाइएको छ,’ बैठकको संयोजन गरेका तिमल्सिनाले भने । उनका अनुसार महाधिवेशन प्रतिनिधिहरू विभिन्न जिल्लाबाट काठमाडौं आउने क्रम सुरु भएको छ । ‘पार्टीको संस्थापन पक्षले मुठभेड निम्त्याउन, महाधिवेशन रोक्न गरेका अनेक प्रयासका बाबजुद विशेष महाधिवेशनमा सहभागी हुन्छौँ भन्ने साथीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ,’ तिमल्सिनाले भने ।
निकटस्थ पदाधिकारीसँग देउवाले भने– विशेष महाधिवेशनले पार्टी फुट्छ, यसलाई रोकौँ
विशेष महाधिवेशनका लागि तयारी तीव्र हुँदै गर्दा सभापति शेरबहादुर देउवाले बिहीबार बिहान निकटस्थ पदाधिकारी र नेता डा. शेखर कोइरालासँग बेग्लाबेग्लै छलफल गरेका थिए । देउवाले विशेष महाधिवेशन नरोके पार्टी विभाजन हुने भन्दै सहमतिका लागि मिलनविन्दु खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालासँग आग्रह गरेका थिए ।
‘जे–जसरी हुन्छ, सहमतिका लागि प्रयास गरौँ । विशेष महाधिवेशन रोकौँ । यसले पार्टी फुट्छ,’ सभापति देउवालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘मैले सभापति छाडेर कार्यवाहक दिइसकेको छु । अरू मैले के त्याग गर्नुपर्ने हो, म तयार छु । विशेष महाधिवेशन रोकेर पार्टी फुट बचाउनुपर्यो ।’ कोइरालाले भने विशेष महाधिवेशनको आवाजलाई सम्बोधन गर्न र उनीहरूसँग छलफल गरेर सहमति खोज्न अनुरोध गरेको उनी निकटस्थ नेताले जानकारी दिए ।
प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवालाई भेट्न नेताहरू गएको र उनले सबैको कुरा सुनेको बताए । ‘नेताहरू सभापतिलाई भेट्न जानुभएको हो । उहाँले सबैको कुरा सुन्नुभयो, पार्टीको दैनिक कामकाज कार्यवाहक सभापतिले गरिरहनुभएकै छ,’ महतले भने, ‘उहाँलाई पार्टीका गतिविधिबारे ब्रिफिङ गर्न नेताहरू जानुहुन्छ, हामी जान्छौँ । योभन्दा अरू केही होइन ।’
डा. प्रकाशशरण महत, प्रवक्ता
विशेष महाधिवेशनको औचित्य छैन भन्ने पार्टीको औपचारिक निर्णय मान्नुपर्नेमा महामन्त्रीहरूले नै उल्लंघन गर्न मिल्छ भने जिल्ला सभापति र युवाहरूले स्वस्फूर्त रूपमा भेला भएर आफ्ना दृष्टिकोण राख्छौँ भन्दा कसरी मुठभेड हुन्छ ? जिल्ला सभापति र युवाहरूको कार्यक्रम उहाँहरूले नै स्वस्फूर्त रूपमा गर्नुभएको हो, पार्टी नेतृत्वले आयोजना गरेको होइन ।
अजयबाबु सिवाकोटी, विशेष महाधिवेशन पक्षधर नेता
हामी विगतमा राजाको निरंकुशतासँग डराएनौँ, हाम्रो वैधानिक आवाजलाई कुल्चिन खोज्ने अवैधानिक प्रयासको विरोध गर्छौँ । नेतृत्वको रवैयाले पार्टीमा मुठभेड बढाउनेछ, हामीलाई स्वीकार्य छैन ।