प्रतिनिधिसभा निर्वाचन : ओखलढुंगाबाट पोखरेलसहित एमालेका पाँचजना सिफारिस

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेकपा (एमाले)ले पाँचजनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा ईश्वर पोखरेललाई सिफारिस गरेको छ। दोस्रो नम्बरमा पूर्वप्रदेशमन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरिएको छ।

त्यसैगरी, प्रदेश कमिटी सदस्य नानीबाबु बुढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी)लाई पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा (एमाले) ओखलढुंगा प्रचार विभाग प्रमुख राजीव कटवालले जानकारी दिए।

बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठक राति अबेरसम्म चलेको थियो। बैठकमा जिल्ला कमिटी तथा पालिका कमिटीका अधिकांश पदाधिकारीहरूले जिल्लामा विकासवादी नेताको पहिचान बनाएका तथा अहिलेको परिस्थितिमा जित सुनिश्चित गराउन सक्ने नयाँ अनुहारका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्न माग गरेका थिए।

१८ जना आकांक्षी भए पनि अन्तिममा पाँचजनाको नाम टुंगो लगाएर केन्द्रमा पठाइएको एमालेले जनाएको छ। बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिका साथै विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता थियो।
 

सुझावित समाचार