निःशुल्क शिविर : शल्यक्रियामार्फत सर्लाहीका २३२ जनाले पाए आँखाको ज्योति

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

सर्लाहीको बागमतीमा आयोजित तीन दिने निःशुल्क आँखा उपचार शिविरबाट २३२ जनाले आँखाको ज्योति पुनः पाएका छन् । बागमती नगरपालिका–१२, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्रमा आयोजित तीन दिने निःशुल्क शिविरमा मोतिया विन्दुको सफल शल्यक्रियापछि उनीहरूले आँखाको ज्योति पुनः पाएका हुन् । 

गत सोमबारबाट केन्द्रमा निःशुल्क मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु भएको थियो । बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा शिविर आयोजना भएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए । 

शिविरमा पहिलो दिन ७९ जनाको, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको थियो । शिविरअन्तर्गत गत १५ पुसबाट जिल्लाको चार पालिका बागमती, बरहथवा, बलरा र बसवरियामा स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० भन्ला बढीको आँखामा मोतिया विन्दुको समस्या फेला परेको शिविर आयोजक बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्द मोहन झाले जानकारी दिए । 

सहसंयोजक झाका अनुसार प्रतिकुल मौसमका कारण धेरै बिरामीलाई क्याम्पसम्म ल्याउन नसक्दा सबैको शल्यक्रिया हुन सकेन । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट खटिएका डाक्टर रचना सिंह रानाको टोली सेवा दिएको थियो । बागमती नगरपालिकाले बिरामीहरूको खाना र बासको व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए । गाउँ घरमै शिविरमा सहभागी भएर आँखाको उपचार गर्न पाउदा वृद्धवृद्धाहरूले खुशी व्यक्त गरेका थिए । 

गत वर्षबाट तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाको रुपमा बागमती नगरपालिका–१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनसँगै यस क्षेत्रका आँखाका बिमारीले सहज सेवा पाउँदै आएका छन् । 
 

सुझावित समाचार