बर्दियाका ५१ वटा सरकारी तथा गैरसरकारी निकायले विद्युत् महसुल बुझाउन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रका अनुसार ५१ निकायबाट २१ लाखभन्दा बढी महसुल उठ्न बाँकी छ।
समयमा विद्युत् महसुल नतिर्नेमा विद्यालय, सरकारी कार्यालय, सामुदायिक वन सामुदायिक भवनलगायत छन् । विद्युत् महसुल नतिर्नेमध्ये केही कार्यालय खारेजसमेत भइसकेका छन्। सबैभन्दा बढी समयदेखि विद्युत् महसुल नतिर्नेमा जिल्ला खेलकुद विकास कार्यालय रहेको नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रले जनाएको छ। सरकारी तथा गैरसरकारी निकायबाट २१ लाख २७ हजार ७३१ रुपैयाँ विद्युत् महसिल उठ्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रका सूचना अधिकारी महेन्द्र पुनमगरले जानकारी दिए। उनले भने, ‘समयमा महसुल नतिर्नेमा सबैभन्दा धेरै सरकारी विद्यालय रहेका छन्।’ यसरी महशुल नतिर्नेमा तीन महिनादेखि १३१ महिनासम्मकाे बाँकी रहेकाे उनकाे भनाइ छ ।