नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नक्सालस्थित नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्युरिफायरलगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ।
यस किसिमको पहलबाट बैंकले बालबालिकाको तत्काल आवश्यकताहरू पूरा हुनुका साथै बालबालिकाहरूको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका अध्यक्ष बैंकट बंसीधर कुंचाले नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सहयोग सामग्रीहरू हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, बैंकका सञ्चालक रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रवीणमुनि बज्राचार्य र बैंक तथा संस्थाका पदाधिकारीसमेतको उपस्थिति थियो।