हिन्दुहरूको रक्षाबन्धन पर्वप्रति दुई युवकले टिकटकमा नकारात्मक भिडियो पोस्ट गरेको निहुँमा मधेशको सामाजिक सद्भाव नै खलबलिने गरी तनाव सिर्जना भएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेर कारबाहीको प्रक्रिया सुरु गरिसकेको छ । तर, गत शनिबार धनुषाको कमला नगरपालिका– ६, सखुवा मरानस्थित मुस्लिम टोलस्थित मस्जिदमा तोडफोड र कुरान जलाएपछि तनाव थप चर्किएको हो ।
वीरगन्जमा आइतबारदेखि सुरु भएको आन्दोलन सोमबार बिहान झन् चर्किएपछि परिस्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्ज महानगरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको पर्साका सिडिओ भोला दाहालले बताए । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ । यो अवधिमा भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने र आदेशको उल्लंघन भएमा नियन्त्रणमा लिई कानुनी कारबाही गरिने दाहालले बताए ।
रक्षाबन्धनबारे टिकटकमा नकारात्मक भिडियो पोस्ट गरेका १९ वर्षका दुई युवकलाई कारबाहीको माग गर्दै गत शनिबार बिहान ११ बजेतिर करिब तीन सय व्यक्ति धनुषाको सखुवा प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बमका अनुसार थोरै संख्यामा प्रहरी रहेको चौकीमा इलाका प्रहरी कार्यालय खजुरीबाट थप सुरक्षा पठाउनुपरेको थियो । आन्दोलनलाई सम्बोधन गर्दै खजुरी प्रहरीले दुई युवकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तर, त्यसै वेला सखुवाकै मस्जिदमा तोडफोड र आगजनी भएको प्रवक्ता बमले बताए ।
प्रहरीका अनुसार टिकटकमा भिडियो पोस्ट गर्ने दुवै युवा प्रहरी नियन्त्रणमा छन् । त्यस्तै, मस्जिद तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सखुवाकै एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको जनाएको छ । केही व्यक्तिले गरेको उच्छृंखल गतिविधिमाथि प्रहरीले कानुनी कारबाही थालिसक्दा पनि सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोजिरहेको भन्दै सरोकारवालाहरूले चिन्ता जनाएका छन् । प्रहरीले पनि यस्ता व्यक्तिलाई कारबाही गर्ने जनाएको छ ।
‘वर्षौँदेखि मिलेर बसेको समाजमा केही व्यक्तिले आफ्ना स्वार्थमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम गरिरहेका छन् । त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउँछौँ,’ उनले भने ।
संवैधानिक पदाधिकारीसँग गृह मन्त्रालयको छलफल : मधेशका सबै जिल्लामा सद्भाव समिति गठन गर्न निर्देशन
मधेशका जिल्लामा केही दिनयता सामाजिक सद्भाव खलबल्याउने गतिविधि भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न संवैधानिक आयोगका पदाधिकारी तथा कर्मचारीसँग छलफल गरेका छन् । सोमबार उनले मधेशी आयोग, मुस्लिम आयोग, थारू आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलपछि आयोगका पदाधिकारीले सामाजिक सद्भावका लागि संयुक्त रूपमा आह्वान गरेका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाज सदियौँदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जनजाति, संस्कृति, धर्म एवं सम्प्रदाय एक–आपसमा मिलेर बसेको समाज हो । तर, केही समययता तराई मधेशका केही स्थानहरूमा धार्मिक सहिष्णुता खलल पार्ने क्रियाकलाप देखिएकाले सबै धार्मिक सम्प्रदायबिच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्त रूपमा हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्ति जारी गर्नेहरूमा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह, थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारू, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अली, मधेशी आयोगका सदस्य आभाकुमार सिंह, थारू आयोगका सदस्य भोलिराम चौधरी, मुस्लिम आयोगका सदस्य मिर्जी अरसन वेग र मोहम्मद समसुल हक छन् ।
सोमबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सद्भाव र सहअस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन सबै पक्षसँग आग्रह गरेका थिए । गृह प्रशासन र संघीय सरकारको तहबाट गरिनुपर्ने सबै खालका सुरक्षाका पूर्वतयारी र सजगता अपनाइएको उनको भनाइ छ । अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकाले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारीबोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन् । यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका खेलिदिएर अवस्थालाई सामान्यीकरण गर्नुपर्ने उनको भनाइ छ ।
गृहमन्त्री अर्यालकै अध्यक्षतामा सोमबार मधेश प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरूसँग ‘जुम’ बैठक भएको थियो । बैठकमा अर्यालले हाल मधेश प्रदेशका सिडिओ तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । गृहले आइतबार पनि मुस्लिम अगुवासँग यसबारेमा छलफल गरेको थियो ।
सोमबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी विभिन्न जातजाति, धर्म र सम्प्रदायबिच खलल पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । त्यस्ता गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइसकिएको जनाउँदै सामाजिक सञ्जालमार्फत पनि अरूको धर्म तथा समुदायप्रति द्वेष फैलाउने काम नगर्न गृहले सबैलाई आग्रह गरेको । सबै जिल्लामा सद्भाव समिति गठन गरी समन्वयात्मक बैठकहरू गर्न निर्देशन दिइएको पनि गृहप्रवक्ता काफ्लेले बताए ।
शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख र मुख्यमन्त्रीकोे अपिल
मधेश प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्ण र मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेशको पहिचान शान्ति, सद्भाव र आपसी भाइचारा भएको स्मरण गराउँदै सबैलाई संयम र एकताको मार्ग अपनाउन अपिल गरेका छन् । कर्णले सोमबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा देखिएका केही गतिविधिले सदियौँदेखि कायम सामाजिक एकतामा आँच आउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै आवेग र उत्तेजनाबाट टाढा रहन सबैसँग आग्रह गरेका छन् । विचार र आस्था फरक भए पनि मानवीय मूल्य र सामाजिक सहअस्तित्व साझा रहेको भन्दै संवाद र सहकार्यबाटै समस्याको समाधान सम्भव हुने उनले बताए । त्यस्तै, मुख्यमन्त्री यादवले मधेश सबै समुदायको साझा घर भएको उल्लेख गर्दै विविधता नै मधेशको वास्तविक शक्ति र पहिचान भएको बताए । हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यादवले हिंसाबाट कुनै पनि समस्या समाधान नहुने बताए । मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गरेका छन् ।