राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू च्याँखे थाप्ने म्याजिक नम्बरमा नरमाउने प्रस्ट पारेका छन्।
सोमबार पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले आसन्न निर्वाचनमा बहुमत ल्याएर रास्वपा मुलुकको निर्णायक शक्ति बन्ने बताए।
रास्वपालाई सिट बढाउन समस्या नभएको उल्लेख गर्दै उनले भने, ‘च्याँखे थाप्ने पार्टी, म्याजिक नम्बर इधरउधर गर्ने पार्टीमा हामी रमाउन चाहेनौँ। हामी अब १५१ सिट ल्याएर, बहुमत ल्याएर यो देशको निर्णायक शक्ति र २१औँ शताब्दीअनुकूल तमाम नवयुवा वर्गको आकांक्षालाई बोक्ने नयाँ एस्पिरेसनल सोसाइटीको बिम्ब बन्न चाहन्छौँ।’
आफूहरूले रास्वपालाई राष्ट्रको ऐना र साझा फूलबारीका रूपमा अघि बढाउन चाहेको उल्लेख गर्दै वाग्लेले त्यसका लागि उदार हुनुपर्ने धारणा राखे। उनले भने, ‘यदि यो देश नै हाँक्ने महत्वकांक्षा हो भने, मुलुकको राजनीतिक कोर्सलाई नै बदल्ने हो भने हामीले झ्याल ढोका बन्द गरेर त्यो महानता हासिल गर्न सक्दैनौँ।’
सभापति रवि लामिछानेले ठुलो आँट र जोखिम मोलेर रास्वपा स्थापना गरेको उल्लेख गर्दै वाग्लेले भने, ‘उहाँको अभियानलाई आज हामीले यो उचाइमा पुर्याउन सफल भएका छौँ।’