दुईदिवसीय टेस्ट क्रिकेट प्रतियोगिताको सिरिज रुपन्देही–११ लाई

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

भैरहवामा भएको पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिताअन्तर्गत दुई दिवसीय टेष्ट सिरिज रुपन्देही–११ ले हात पारेको छ । प्रतियोगिताको आयोजना रुपन्देही क्रिकेट संघले गरेको हो । 

प्रतियोगीतामा रुपन्देही–११ र त्रिभुवन आर्मी क्लब ‘ए’ले भाग लिएका थिए । भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतबार सुरु भएको प्रतियोगीतामा रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’लाई १०१ रनले पराजित गर्दै जित निकालेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।

आइतबार रुपन्देहीले पहिलो इनिङमा १२२ रन बनाएको थियो भने आर्मीले १५५ रन बनाएको थियो । यसक्रममा आर्मीका जितेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहेका थिए ।

सोमबार भएको दोस्रो इनिङमा रुपन्देहीले २०५ रन बनाएर पारी घोषित गर्यो । जसमा देव खनालले ७८ र प्रज्वल थापाले नटआउट ४२ रन बनाए । बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २–२ विकेट लिए । 

आर्मीले पहिलो दिन १६ रनले अग्रता लिए पनि दोस्रो दिन रुपन्देहीले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भयो । 

रुपन्देहीको इनिङ सुरु हुनुअघि आर्मीले ३३ रनले अग्रता लिएको थियो । आर्मीका प्रदीप पेलाले २१, जितेन्द्रसिंह ठकुरीले १७ र प्रदीप सिंह चाइसिरले १६ रन बनाए । बलिङतर्फ रुपन्देहीका सन्देश थापा र अजयकुमार चौहानले ३–३ तथा सुरज खड्का र विशाल भुसालले १–१ विकेट लिए । अजयकुमार चौहान म्यान अफ द म्याच घोषित भए ।

नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबिच प्रतिस्पर्धा भएको हो । दुई दिवसीय टेष्ट सकिएसँगै मंगलबारबाट वनडे सिरिज हुनेछ । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्व. पवनकुमार सेठियाको स्मृतिमा  प्रायोजन गरेका छन् ।

प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले पाँच हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुवै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार २३, २५ र २७ पुसमा ओडीआई, २९, ३० र माघ १ गते टी–ट्वान्टी क्रिकेट सिरिज हुनेछ ।
 

सुझावित समाचार