टी–२० महिला विश्वकप ग्लोबल छनोटमा तीन खेलाडीको पुनरागमन

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण
टी–२० महिला विश्वकप ग्लोबल छनोटमा तीन खेलाडीको पुनरागमन

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि प्रशिक्षण गर्दै महिला खेलाडी ।

  • आइसिसी टी–२० महिला विश्वकप ग्लोबल छनोटका लागि क्यानले आइतबार घोषणा गरेको राष्ट्रिय टोलीमा सीता रानामगर, काजल श्रेष्ठ र सोनु विष्टले बनाए स्थान

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा हुँदा तीनजना खेलाडीले पुनरागमन गरेका छन् । सीता रानामगर, काजल श्रेष्ठ र सोनु विष्टले स्थान सुरक्षित गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा रहेका रुबी पोदार, सना प्रवीण, ईश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । 

टोलीमा स्थान बनाएकी सीताले नेपालबाट ६३ टी–२० आई खेलेकी छिन् । उनले ५९ इनिङ्समा ९६५ रन बटुलेकी छिन् । बलिङका क्रममा उनले ५७ विकेट हात पारेकी छिन् । नेपाली महिला क्रिकेट टोलीकै पहिलो पुस्ताकी खेलाडी सीताले अन्तिमपटक गत वर्षको ७ अक्टोबरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । विकेटकिपर ब्याट्सम्यान काजलले सन् २०२४ को २३ जुलाईपछि राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । उनले अन्तिमपटक भारतविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । 

अलराउन्डर सोनुले सात टी–२० आई खेलेकी छिन् । उनले अन्तिमपटक गत वर्षको अक्टोबरमा मलेसियाविरुद्ध खेलेकी थिइन् । बलिङमा उनले सात इनिङ्समा चार विकेट हात पारेकी छिन् । सीता र सोनु डेढ वर्षपछि टोलीमा फर्कन लागेका हुन् । क्यानले दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानेको हो । उमेर समूहदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी पूजा महतोले उपकप्तानीको जिम्मेवारी पाएकी छिन् । नियमित खेलाडी पूर्वकप्तान रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का तथा कविता जोशीले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, राजमती ऐरी र मनीषा उपाध्यायसहितको टोली घोषणा गरिएको हो । 

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालले समूह चरणमा नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावेविरुद्ध खेल्नेछ । अघिल्लो संस्करणमा थाइल्यान्डले विश्वकप खेलेको थियो । थाइल्यान्डले हर्षल पाठकको मुख्य प्रशिक्षणमा विश्वकप खेलेको थियो । अहिले नेपाली राष्ट्रिय महिला टोलीलाई उनै पाठकले प्रशिक्षण दिइरहेका छन् । पाठकले जिम्मेवारी सम्हालेपछि टोलीले नियमित प्रशिक्षण गरिरहेको क्यानले जनाएको छ । 

ग्लोबल छनोटमा १० राष्ट्र सहभागी
ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा ३२ खेल हुने आयोजक क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । शीर्ष चार राष्ट्रले आगामी जुनमा इंग्ल्यान्डले आयोजना गर्ने महिला टी–२० विश्वकप खेल्नेछन् । नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो । समूह चरणको खेलपछि शीर्ष तीन–तीन राष्ट्र सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकपको टिकट पक्का गर्नेछन् । नेपालले पहिलोपटक विश्वकप ग्लोबल छनोट आयोजना गर्ने अवसर पाएको हो । आयोजक क्यानले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट र मूलपानीको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता आगामी २८ पुस देखि १८ माघसम्म चल्नेछ ।

छनोट हुँदा नेपाललाई टेस्ट राष्ट्रसँग खेल्ने अवसर
ग्लोबल छनोटमा शीर्ष चारमा स्थान बनाउँदा नेपालले पहिलोपटक विश्वकप खेल्न अवसर पाउनेछ । यससँगै टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध खेल्न मौका नेपालसमक्ष छ । इंग्ल्यान्डमा आगामी १२ जुनदेखि ५ जुलाईसम्म हुने आइसिसी महिला टी–२० विश्वकपको समूह विभाजन भइसकेको छ । समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान र दक्षिण अफ्रिका छन् । समूह ‘बी’मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका र वेस्ट इन्डिज रहेका छन् । यी दुवै समूहमा ग्लोबल छनोटबाट आउने समान दुई राष्ट्रले स्थान बनाउनेछन । यस अर्थमा ग्लोबल छनोटमा शीर्ष चार स्थान मात्र रक्षा गर्दा नेपालले महिला क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछ । आइसिसीले ग्लोबल छनोटपछि मात्र वरीयताअनुसार चार राष्ट्रलाई समूहमा समावेश गर्नेछ । 

नेपालको समूहमा अनुभवी राष्ट्र
नेपालले आफ्नो समूहमा अनुभवी राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ । ग्लोबल छनोटमा सहभागीमध्ये थाइल्यान्ड मात्र विश्वकप खेलेको राष्ट्र हो । नेदरल्यान्ड्सले चौथोपटक ग्लोबल छनोट खेल्न लागेको हो । स्कटल्यान्ड र जिम्बावेले यसअघि तीनपटक छनोट चरण खेलेका थिए । आइसिसीको महिला टी–२० वरीयतामा जिम्बावे अगाडि छ । जिम्बावे १२, नेदरल्यान्ड्स १३औँ, स्कटल्यान्ड १४औँ र नेपाल १७औँ स्थानमा छ । थाइल्यान्ड ५८औँ स्थानमा रहेको आइसिसीको पछिल्लो वरीयतामा उल्लेख छ । नेपालले ग्लोबल छनोटअघि आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्नेछ । 

एसियन छनोटको उपविजेता नेपाल
गत मेमा थाइल्यान्डले नौ राष्ट्रबिचको एसियन क्षेत्रीय टी–२० विश्वकप छनोट आयोजना गरेको थियो । आइसिसीले छनोटका शीर्ष दुई टोली ग्लोबल छनोटमा प्रवेश हुने प्रावधान बनाएको थियो । थाइल्यान्ड, कुवेत, भुटान, युएई, मलेसिया, कतार, नेपाल, हङकङ र बहराइन सहभागी थिए । नेपालले समूह ‘सी’मा चार खेलमा दुई जित र एक हारको सामना गरी ५ अंक बटुलेको थियो । 

यस समूहमा हङकङले पनि ५ अंक बनाएको थियो । रनरेटमा हङकङलाई पछि पार्दै नेपालले सुपर सिक्समा स्थान बनायो । सुपर सिक्समा थाइल्यान्डले ६ खेलमा चार जित निकाली सर्वाधिक १० अंक र नेपालले तीन जित र दुई हार सामना गरी ७ अंक जोडेको थियो । नेपाल उपविजेता रहँदै पहिलोपटक ग्लोबल छनोटमा पुगेको थियो । 

माया ग्रुपले बनायो नौ क्रिकेटरलाई ब्रान्ड एम्बासडर 
माया ग्रुपले एकैपटक नौ क्रिकेटरलाई ब्रान्ड एम्बासडर बनाएको छ । नेपाली क्रिकेटलाई व्यावसायिक बनाउने क्रममा आइतबार नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्सन झा, नन्दन यादव र अर्जुन साउदलाई ब्रान्ड एम्बासडर बनाएको हो । यसैगरी, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिन पनि माया ग्रुपको ब्रान्ड एम्बासडर बनेका छन् । नौजना खेलाडीसँग माया ग्रुपले प्रायोजनसम्बन्धी सम्झौता गरेको छ । माया ग्रुप सन् २०१८ मा स्थापना भएको हो । 

गत वर्षको मे र जुनमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड र स्कटल्यान्ड भ्रमण गर्दा माया ग्रुपले नै व्यवस्थापनको जिम्मा लिएको थियो । सम्झौताले क्रिकेट खेलाडीको प्रतिभालाई अझ परिष्कृत गराउन सहयोग गर्ने मायाले विश्वास लिएको छ ।

सुझावित समाचार