त्रिवेणी कपः लाङ्दीदेवी फाइनलमा, चर्च बोइज प्रतियोगिताबाट बाहिरियो

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

लाङ्दीदेवी युवा क्लब, लमजुङले जारी ३३औँ त्रिवेणी कपको उपाधि यात्रा तय गर्दा ‘ए’ डिभिजन लिग विजेता चर्च बोइज युनाइटेड भने प्रतियोगिताबाट बाहिरिएको छ । 

त्रिवेणी युवा क्लब लमजुङको आयोजनामा बेँसीसहरस्थित त्रिवेणी रंगशालामा जारी प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलमा बेँसीसहर–७, नाल्मास्थित लाङ्दीदेवीले लिग विजेता चर्च बोइजलाई २–० गोलअन्तरले पराजित गरेको हो । लाङ्दीदेवीले उपाधिका लागि डिफेन्डिङ च्पाम्पियन विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबसँगको भेट पक्का गरेको हो ।

शनिबार सम्पन्न पहिलो सेमिफाइन खेलमा एपिएफले लमजुङको मर्स्याङ्दी युवा क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको थियो ।

खेलको ३६औँ मिनेटमा रोहन कार्कीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको चर्च बोइजले दोस्रो हाफमा खेललाई बराबरीमा ल्याउन प्रयास गरे पनि सकेको थिएन । ९० मिनेटको निर्धारित समयमा खेल १–० मा रहेको अबस्थामा त्यसपछि थपिएको दुई मिनेटको इन्जुरी समयको पहिलो मिनेट ९०+१ मा लाङ्दीदेवीका आशिष गुरुङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेपछि चर्च बोइजले स्थानीय क्लबसँग लज्जास्पद हारको सामान गर्दै प्रतियोगिताबाट बाहिरिएको हो । चर्च बोइजका खेलाडीले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई आशिषले पोस्टको दिशा दिन सफल भएका थिए ।

मोफसलको लाङ्दीदेवी यसअघि प्रिक्वाटर फाइनलको खेलमा चित्लाङ फुटबल क्लबलाई १–० र क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

१२ पुसदेखि जारी प्रतियोगितामा ‘ए’ डिभिजन चारसँगै मोफसलका र आयोजक गरी १६ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५-२५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार र ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष टेकजंग गुरुङले जानकारी दिए।

जितपछि लाङ्दीदेवीका प्रशिक्षक राजकुमार गुरुङले प्रतियोगितामा आफूहरूले सुरुको खेलदेखि डिफेन्स लाइनलाई बलियो बनाएको बताए । यसअघि बलिया दुई टोलीलाई पराजित गरेका कारण खेलाडीको मनोबल उच्च रहेको र सोहीअनुसार आज प्रर्दशन गर्दा जितका लागि सहज भएको बताए । आजको खेलमा पहिलो हाफमा अग्रता लिने उदेश्यसहित टोली मैदान उत्रेको र सोहीअनुसार सफल भएको उनको भनाइ छ । 
 

सुझावित समाचार