बीभत्स हत्या गरिएका महतोको टाउको पनि बरामद

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

शनिबार सर्लाहीको ईश्वरपुरमा बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको रामईश्वर महतोको आइतबार टाउको पनि बरामद भएको छ। सागरनाथ वन परियोजनाका वन रक्षक ईश्वरपुर नगरपालिका–२, राइटरखोरका ४७ वर्षीय महतोको शनिबार टाउको नरहेको अवस्थामा शव भेटिएको थियो।

खोजी गर्ने क्रममा आइतबार दिउँसो घटनास्थलबाट १०० मिटरको दूरीमा रहेको झाडीमा टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

शनिबार दिउँसो परियोजनाको १० नम्बर प्लटनजिकै झाडीमा टाउको गिँडेको अवस्थामा शरीर फेला परेका महतोको राति अबेरसम्म खोजी गर्दा पनि टाउको फेला परेको थिएन। आज बिहानैदेखि ठुलो संख्यामा प्रहरी परिचालन गरेर सुरु गरिएको खोजी अभियानको क्रममा दिउँसो झाडीमा टाउको फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकैबाट रगत लतपतिएको एक थान बन्चरो प्रहरीले शनिबार नै बरामद गरिसकेको छ। रगत लागेको कपडासहित घटनामा संलग्न आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सार्वजनिक भने गरेको छैन।

शनिबार बिहानै वनमा रुख काटेको आवाज आएपछि महतो साइकल लिएर घटनास्थलतर्फ लागेका थिए। अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा आफन्तले उनको बीभत्स अवस्थामा शव फेला पारेका हुन्।

सुझावित समाचार