नवाैँ एनभिए भलिबल च्याम्पियनसिप : हेल्प नेपाल र न्यु डायमन्डलाई ट्रफी

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण
  • पुरुषतर्फको उपाधि भिडन्तमा हेल्प नेपालले आर्मीलाई सिधा सेटमा निराश बनायो भने महिलामा न्यु डायमन्डले नेपाल पुलिसमाथि ३–० को सहज जित हात पार्‍यो 

हेल्प नेपाल स्पोर्टस् क्लब र न्यु डायमन्डले शनिबार नवाैँ एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । हेल्प नेपालले लगातार तेस्रोपटक पुरुषतर्फ ट्रफी हात पारेको हो । महिलातर्फ न्यु डायमन्डले चार वर्षपछि उपाधि जित्यो । हेल्प नेपालले तेस्रोपटक उपाधि रक्षा गर्ने क्रममा कुनै पनि सेटमा हारको सामना गर्नुपरेन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मीमाथि ३–० को एकपक्षीय जित निकालेको हो । समग्रमा हेल्प नेपाल २५–२१,२५–२१ र २५–२१ ले विजयी भएको हो । संयोग कस्तो रह्यो भने पुरुषतर्फको उपाधि भिडन्तमा हेल्प नेपाल र आर्मी लगातार चौथोपटक प्रतिस्पर्धा गरेका हुन् । ०७८ मा आर्मीले हेल्प नेपाललाई निराश बनाएको थियो । त्यसपछिका तीनवटा फाइनलमा हेल्न नेपाल आर्मीमाथि हाबी हुँदै आइरहेको छ । आर्मीले चौथोपटकको फाइनलमा हेल्प नेपाललाई हराउने अपेक्षा थियो । तर, समूह चरणदेखि संगठित रूपमा प्रतिस्पर्धा गरेको हेल्प नेपालले आर्मीका खेलाडीलाई कुनै पनि सेटमा चल्न दिएनन् । यसअघि हेल्प नेपालले ०७९, ०८० र ०८२ मा उपाधि हात पारेको थियो ।

तीनवटै सेटमा चुनौती 
आर्मीले सीधा सेटमा उपाधि गुमाए पनि हेल्प नेपाललाई चुनौती प्रस्तुत गरेको थियो । लोकबहादुर बुढाको प्रशिक्षणमा रहेको आर्मीबाट धनबहादुर भट्ट, हरिहजुर थापा, दुर्गाबहादुर खड्का, राजेन्द्र धामी, देवबहादुर राना, सूर्य विक र सुनील बोहराजस्ता खेलाडी थिए । हेल्प नेपालमा भने पाकिस्तानी खेलाडीको साथ पाएको थियो । उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालमा मोहमद कासिफ नाभेद, मुबासर राजा तथा फखरजस्ता प्रभावशाली विदेशी खेलाडीले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरे । हेल्प नेपालले तीनवटै सेटमा आर्मीबाट कडा चुनौती पाए पनि अनुभवी विदेशी खेलाडीको सहयोगमा उपाधि रक्षा गरेको हो । आर्मीले भने पटक–पटक गल्ती गर्दा सेटको अन्तिम समयमा महत्वपूर्ण अंक गुमाएको थियो । उनीहरूको हार कारण नै निर्णायक मोडमा अंक रक्षा गर्न नसक्नु नै थियो । आर्मीले अघिल्लो खेलमा पाकिस्तानी खेलाडीले भरिएको पश्चिम रुकुमलाई ३–२ को सेटमा पाखा लगाएको थियो । तर, लगातार खेल खेल्नुपर्दा आर्मीका खेलाडी फाइनलमा थकित देखिन्थे ।

चार वर्षपछि न्यु डायमन्ड च्याम्पियन
अस्ट्रेलियाबाट टोलीमा आबद्ध भएपछि न्यु डायमन्ड यसपटक उत्कृष्ट लयमा देखिएको थियो । प्रतिभा एक वर्षपछि न्यु डायमन्डसँग जोडिएकी हुन् । समूह चरणदेखि उपाधि यात्रामा न्यु डायमन्डले एकपक्षीय जित निकाल्यो । अझ फाइनलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २५–१८,२५–१९ र २५–१८ ले हराउँदै दोस्रोपटक उपाधि जित्यो । न्यु डायमन्डले चार वर्षपछि एनभिएको महिलातर्फ ट्रफी जितेको हो । न्यु डायमन्ड फाइनलसम्म एक सेट पनि गुमाउनुपरेन । ०७८ मा न्यु डायमन्डले विभागीय टोली एपिएफलाई‌ हराएको थियो । अर्को वर्ष न्यु डायमन्डले उपाधि रक्षा गर्न सकेन । त्यसवेला पुलिस च्याम्पियन बनेको थियो ।

न्यु डायमन्डले पोखरामा भएको एनभिए भलिबल लिगको फाइनलमा पुलिससँग हारको सामना गरेको थियो । यसपटक न्यु डायमन्ड पुलिसविरुद्ध बदला पूरा गरेको छ । टिमवर्क, दरिलो आक्रामण तथा ब्लकमा उत्कृष्ट प्रदर्शन गरेपछि न्यु डायमन्ड महिलातर्फ अब्बल टोली देखियो । त्यही नै उपाधि भिडन्तमा पुलिसको प्रदर्शन खल्लो देखियो । निर्णायक क्षणमा पुलिसले अंक बटुल्न सकेन । न्यु डायमन्ड र पुलिसले लगातार चार खेल जित्दै अन्तिम दुई स्थान रक्षा गरेका थिए । पुलिसले समूह चरणमा एपिएफविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो । 

पुलिस र एपिएफ तेस्रो
प्रतियोगितामा पुलिस पुरुषमा र एपिएफ महिलातर्फ तेस्रो भएका छन् । तीनजना विदेशी खेलाडीको साथ रहेको रुकुम पश्चिम ट्रेनिङ सेन्टरले तेस्रो स्थानमा भएको खेलमा पुलिसलाई कडा चुनौती दिएको थियो । तर, पुलिसले पश्चिम रुकुमलाई २५–२७,२३–२५,२६–२४,२५–२२ र १५–१० को पाँच सेटमा पाखा लगायो । पुलिसले पहिलो दुई सेट गुमाएको थियो । पश्चिम रुकुम लगभग तेस्रो स्थान रक्षा गर्ने सँघारमा थियो । पुलिसले तेस्रोदेखि पाँचौँ सेटसम्म पुनरागमन गर्दै तेस्रो स्थान रक्षा गर्‍यो । महिलामा एपिएफले अर्को एकपक्षीय रूपमा २५–१३,२५–१७ र २५–१० ले निराश बनायो । प्रतियोगिताको पुरुष तथा महिलातर्फका विजेता टोलीले पाँच लाख रुपैयाँ पाएका छन् । उपविजेताले दुई लाख ५० हजार रुपैयाँ तथा तेस्रो टोलीले एक लाख २५ हजार रुपैयाँ हात पारे । एनभिए लिगबाट पुरुषतर्फ आठ र महिलातर्फ ६ टोली एनभिए लिगका लागि छनोट भएको नेपाल भलिबल संघले जनाएको छ । 

सुझावित समाचार