चुरे क्षेत्रको गाउँमा जंगली हात्तीको तोडफोड, पाँच घरमा क्षति

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

चुरे क्षेत्रमा पर्ने सिराहाको लहान नगरपालिका १६ आरिदमार गाउँमा शुक्रबार राति चारवटा जंगली हात्तीको समूहले तोडफोड गरेको छ । खाना खाइवरी सुत्ने तर्खर गरिरहेका बेला राति करिब ९ बजेतिर एक्कासि समूहमा आएको जंगली हात्तीले स्थानीय पाँचजनाको घर तोडफोड गरेको छ ।

लहान १६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार हात्तीको समूहले स्थानीय भुपाल मगर, जालबहादुर थापा, भक्तबहादुर नामजाली, रामबहादुर मगर, गोपाल थापामगरको घर तोडफोड गरी अन्नपात खानुका साथै करेसाबारीमा लगाएको तरकारी बाली नष्ट गरेको छ ।

‘हात्तीको समूहले सबैभन्दा बढी जालबहादुर, भुपाल र भक्तबहादुरको घरमा क्षति पुर्याएको छ,’ उनले भने, ‘हात्तीको समूह गाउँ पसेपछि रातभर गाउँलेहरू जाग्राम बसेका छन्।’ गाउँमा घर तोडफोड, अन्नपात खाएपछि हिँडेको हात्तीको समूह अहिले आरिदमारदेखि उत्तर मझेली बेतहा जंगलमा रहेको उनले बताए । उनका अनुसार बिहान करिब ९ बजेतिर लहानस्थित डिभिजन वनका सशस्त्र वनरक्षकसहित जनपद र सशस्त्र प्रहरी बलका प्रहरीहरू आरिदमार गाउँ पुगेका छन् । 

हात्तीलाई नचलाऔँ : डिभिजन वन

हात्तीको प्राकृतिक बासस्थान मासिँदै गएकाले वेला वेलामा समूह बनाएर जंगली हात्ती गाउँ पस्ने गरेको डिभिवन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए । ‘चुरे क्षेत्रको जंगल क्षेत्र जंगली हात्तीको प्राकृतिक करिडोर हो,’ उनले भने, ‘त्यस करिडोरमा पनि बाधा व्यवधानको महसुस भएपछि मात्र हात्ती गाउँ पस्ने हो ।’ 
हात्तीको समूह जंगल क्षेत्रमा रहेकाले उसलाई नचलाउन आग्रह गर्दै आफैँ आफ्नो गन्तव्यतिर जाने उनले बताए । ‘त्यसलाई बिच्क्याउनु हुँदैन,’ उनले भने, ‘झन् आक्रोशित भएर मानव बस्तीमा पसेर थप मानवीय र भौतिक क्षति पुर्याउन सक्छ ।’ प्रायः हरेक वर्ष हिउँदमा जंगली हात्तीको समूहले सिराहाको उत्तरी क्षेत्रमा पर्ने गाउँ बस्तीहरूमा पसेर तोडफोडसहित आतंक मच्चाउने गरेको छ ।  
 

सुझावित समाचार