राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। उनले जनताको भावना र पार्टीभित्र उठेका आवाजलाई सम्मान गर्दै सूचीबाट पछि हट्ने निर्णय लिएको बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन्। बालेन–रवि–कुलमानबीच सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका पहलमा आफू नजिकबाट संलग्न रहेको र त्यही पृष्ठभूमिमा साथीहरूको आग्रहमा समानुपातिक सांसदको बन्दसूचीमा नाम समावेश भएको उनको भनाइ छ।
तर, उम्मेदवारी दर्तापछि सार्वजनिक भएका समाचार, जनताबाट आएका प्रतिक्रिया तथा पार्टीभित्रका साथीहरूको भावनाले आत्मसमीक्षा गर्न बाध्य बनाएको साहले बताएका छन्। नियत सही हुँदाहुँदै पनि प्रक्रियागत रूपमा कमजोरी भएको अनुभूति भएपछि आफूले सूचीबाट हट्ने निर्णय गरेको उनको स्पष्टोक्ति छ।
समानुपातिक प्रणालीमार्फत सांसद बन्ने बाटो रोज्न नसक्ने उल्लेख गर्दै साहले देश र समाजको हितका लागि जुनसुकै भूमिकाबाट योगदान दिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले समानुपातिक सूचीमा रहेका अन्य नेताहरूलाई पनि जनभावनाको कदर गर्दै आत्ममन्थन गर्न आग्रह गरेका छन्।
साहले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीसमेत रहेको जनाएका छन्। उनले देशभन्दा ठुलो केही नभएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनमार्फत जनतासामु जाने आफ्नो निर्णय स्पष्ट र अडिग रहेको बताएका छन्।