शुक्रबार : १० बजेसम्मका मुख्य १० खबर

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

पुसमा विशेष महाधिवेशन हुन्छ, प्रतिनिधिहरूले काठमाडौं आउने तयारी गर्नू : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस महिनामै विशेष महाधिवेशन हुने प्रस्ट पारेका छन्। कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउने तयारी गर्न आग्रह गरे।

केन्द्रको जिम्मेवार नेताले विधानको पालना नगरे आफूहरू टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै थापाले विधानले दिएको अधिकार प्रयोग गरेर महामन्त्रीले विशेष महाधिवेशन बोलाउने प्रस्ट्याए।

डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारकाे ६ बुँदे सम्झौता

११ दिनदेखि अनशनमा बसेका डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ । सम्झौतासँगै उनीहरूले ११औँ दिनमा अनशन  तोडेका छन् । 

सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवैजनालाई बालुवाटारमा जुस खुवाएर अनशन तोडाएकी छिन्।'

बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। 

आफूविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असइ गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असइ पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा अघि बढाएको थियो। उनलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। न्यायाधीश चाणकमणि अर्यालको इजलासबाट शुक्रबार थुनछेक आदेश भएको हो। 

एमालेले गाेरखा २ बाट चक्रे मिलनसहित तीनजनाको नाम सिफारिस गर्यो

नेकपा एमालेले गुन्डागर्दी र आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ)लाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ। गोरखा क्षेत्र नम्बर २ बाट एमालेले गुरुङसहित तीनजनाको नाम सिफारिस गरेको हो। 

निर्वाचन क्षेत्र समन्वय समितिको शुक्रबार सम्पन्न बैठकले गुरुङसँगै शशिकला पोखरेल र बाबुराम थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले गोरखाका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए। समितिले सिफारिस गरेको तीनजनाको नाम जिल्ला कमिटीले रायसहित प्रदेश कमिटीमा पठाउने रोकाले बताए।

स्वास्थ्य बिमाको २५ लाख हिनामिना गर्ने तीनजनालाई दुई–दुई वर्ष कैद सजाय

स्वास्थ्य बिमाको २५ लाख ६७ हजार रकम हिनामिना गर्ने तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारकी कर्मचारी तृप्ति शाही र कुमारी बैंकको सुर्खेत अस्पतालस्थित एक्सटेन्सन काउन्टरकी इन्चार्ज गोमा सिँजाली मगरलाई दुई–दुई वर्ष कैद सजाय सुनाएको हो। 

उनीहरूमध्ये सुवेदी र शाहीलाई जनही आठ लाख ८३ हजार ४१४ तथा मगरलाई आठ लाख ६८६ बिगो असुल गरी सोहीबराबर जरिवानाको फैसला भएको छ। 

बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले राजनीतिक दलले पेस गरेको उम्मेदवारको बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितता हुने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ।

माधवप्रसाद चम्लागाईंसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शुक्रबार यस्तो अन्तरिम आदेश जारी गरेको हो। बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नहुँदा उनीहरूलाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्चले अपांगता भएका व्यक्तिहरूको नामसमेत समावेश गर्न भनेको हो।

बुद्ध एयरको जहाज रनवेबाट चिप्लिँदा केही यात्रु सामान्य घाइते

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर भएको दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। चालक दलका सदस्य तथा यात्रु सबैको उद्धार भइसकेको र केही सामान्य घाइते भएकाले उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले बताए । 

काठमाडौंबाट आएको जहाज अवतरणको क्रममा रनवेबाट चिप्लिएको हो। बेलुका ९ बजेर ७ मिनेटको समयमा विमान चिप्लिएको प्रहरीले जनाएको छ। विमान रनवेबाट करिब दुई सय मिटर चिप्लिएर खोल्सीमा पुगेको थियो। विमानको अघिल्लो भागमा क्षति पुगेको छ । बुद्ध एयरले सूचना जारी गरी ५१ यात्रु सबै सुरक्षित रहेको र काठमाडौंबाट अर्काे जहाा टेक्निकट एवम् रिलिफ टिम पठाइएको जानकारी दिएको छ। 

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ मा गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ सम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्णयमा नोट अफ डिसेन्ट जनाएको पनि महतले बताए। महामन्त्रीद्वयले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनतर्फ जाने उल्लेख गरेका थिए।

योग्यता पुगेका उच्च अधिकारीलाई न्यायाधीश नियुक्त गरी ‘असल अभ्यास’ गर्न अधिकृत समाजको माग

न्यायपरिषद् नियमावली, २०७४ को संशोधनपछि न्यायपालिकाका अधिकृत त्यसको विपक्षमा देखिएका छन् । उनीहरूले संविधानबमोजिम योग्यता पुगेका अधिकृतहरूलाई न्यायाधीशमा नियुक्त गर्न मागसमेत गरेका छन् । 

‘रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिस्ट्रार, रजिस्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुवात होस्,’ न्यायपालिका अधिकृत समाजले भनेको छ, ‘उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका न्याय सेवा, न्याय समूहका विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूबाट रिक्त रहेको उच्च अदालतको न्यायाधीश पदमा प्राथमिकता दिई नियुक्ति गरियोस् ।’

छुट्टै समानुपातिक बन्दसूची बोकेर उज्यालो नेपालका नेता आयोगमा

रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र संरक्षक कुलमान घिसिङका भाइ बन्दसूची बोकेर शुक्रबार निर्वाचन आयोग पुगेका छन्।

उनीहरूले समानुपातिक बन्दसूची बुझाउन ५० हजार रुपैयाँको रसिद काटेको भन्दै बन्दसूची बुझिदिन अनुरोध गरेका थिए। तर, आयोगले बन्दसूची बुझाउने समय सकिसकेको भन्दै लिन अस्वीकार गरेको छ।

उज्यालो नेपालको टोली सुरुमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीकहाँ पुगेको थियो। उनले कानुन तथा राजनीतिक महाशाखामा पठाएका थिए। महाशाखाले बन्दसूची बुझाइसकेपछि मनोनयन भइसकेकाले फेरि पेस गर्न नमिल्ने कानुनी प्रावधान देखाएर फिर्ता पठाएको स्रोतले बतायो।

सुझावित समाचार