छुट्टै समानुपातिक बन्दसूची बोकेर उज्यालो नेपालका नेता आयोगमा

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र संरक्षक कुलमान घिसिङका भाइ बन्दसूची बोकेर शुक्रबार निर्वाचन आयोग पुगेका छन्।

उनीहरूले समानुपातिक बन्दसूची बुझाउन ५० हजार रुपैयाँको रसिद काटेको भन्दै बन्दसूची बुझिदिन अनुरोध गरेका थिए। तर, आयोगले बन्दसूची बुझाउने समय सकिसकेको भन्दै लिन अस्वीकार गरेको छ।

उज्यालो नेपालको टोली सुरुमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीकहाँ पुगेको थियो। उनले कानुन तथा राजनीतिक महाशाखामा पठाएका थिए। महाशाखाले बन्दसूची बुझाइसकेपछि मनोनयन भइसकेकाले फेरि पेस गर्न नमिल्ने कानुनी प्रावधान देखाएर फिर्ता पठाएको स्रोतले बतायो।

आयोगका एक आयुक्तले भने, ‘अस्ति रास्वपासँग एकता भयो भनेर बन्दसूचीको निस्सा फिर्ता लिनुभयो। आज फेरि रसिद काटेका थियौँ, त्यसैले बुझाउँछौँ भनेर आए। रोचक त के छ भने रास्वपाकै बन्दसूचीमा रहेका अनुपकुमार उपाध्यक्ष नै आउनुभएको थियो। हामीले यसरी मिल्दैन भनेर पठाएका छौँ।’

उज्यालो नेपालका नेताहरूले भने आयोगमा गएको अस्वीकार गरेका छन्। १४ गते बन्दसूची बुझाउन आयोग पुगेका नेता प्रवीण गुरुङले छुट्टै बन्दसूची बोकेर नगएको दाबी गरे। ‘त्यस्तो छैन,’ उनले भने।

सुझावित समाचार