वनभोज खान हेटौँडाबाट हेलिकोप्टरमा सिराहा पुगे बागमतीका मुख्यमन्त्री बानियाँ

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेटौँडाबाट हेलिकोप्टरमार्फत सिराहा पुगेका छन् । कांग्रेस सिराहाले नयाँ वर्ष, २०२६ का अवसरमा बिहीबार धनगढीमाई नगरपालिका– १४ सर्रे अम्बासमा आयोजना गरेको वनभोजमा उनी हेलिकोप्टर चढेर पुगेका हुन् । कांग्रेस सिराहा सभापति रामचन्द्र यादवले उनलाई वनभोजमा निम्ता गरेका थिए । वनभोजमा मधेशका मुख्मन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय, कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीलगायत नेताहरू गाडी चढेर पुगेका थिए । 

मुख्यमन्त्री बानियाँले आफूलाई पार्टीको कार्यक्रममा आमन्त्रण गरेकाले निजी खर्चमा हेलिकोप्टर चढेर पुगेको बताए । ‘म सिराहा कसरी गएँ, कुन खर्चमा गएँ भन्ने विषयमा मेरो सचिवालयबाट सत्य–तथ्य सार्वजनिक हुँदै छ,’ उनले भने, ‘मसँग सम्पर्कसमेत नगरी जनतामा नकारात्मक भ्रम सिर्जना गर्ने गरी सूचना प्रवाह भएको छ, त्यसको खण्डन गर्दछु ।’

बढ्दो चिसोमा गरिब विपन्नले कष्ट झेलिरहेका वेला मुख्यमन्त्री बानियाँले हेलिकोप्टर चढेर आफूले अपराध नगरेको बताए । मुख्यमन्त्री बानियाँका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले व्यक्तिगत खर्चमा हेलिकोप्टरमार्फत सिराहा गएको दाबी गरे । ‘मुख्यमन्त्री बानियाँ बिहीबार बिहान सिन्धुपाल्चोकको गुम्बा डाँडामा भएको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको थियो । सिन्धुपाल्चोकबाट सिराहामा भएको पार्टीको कार्यक्रममा सहभागी हुन सडक मार्गबाट सम्भव नभएपछि उहाँले व्यक्तिगत खर्चमा हेलिकोप्टर प्रयोग गर्नुभएको हो,’ उनले भने ।

सुझावित समाचार