पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा पूर्वसचिव सापकोटा नियुक्त

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा श्रीधर सापकोटा नियुक्त भएका छन् । कोषको सञ्चालक समिति अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले बिहीबार सापकोटालाई कोषाध्यक्ष नियुक्त गरेका हुन् । 

सापकोटा पूर्वसचिव हुन् । उनी ०७४ मा नेपाल सरकारको सचिवबाट अवकाश भएका थिए । पशुपति क्षेत्र विकास ऐनमा कोषको सञ्चालक समिति अध्यक्षले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कोषको कोषाध्यक्ष विशिष्ट श्रेणीसरहको पद हो ।  

पछिल्लो समय कोष गैरकानुनी गतिविधिका कारण विवादित बन्दै आएको छ । विभिन्न हिनामिनामा कोषका धेरै पदाधिकारी मुद्दा झेलिरहेका छन्। कोषका अघिल्ला दुई सदस्यसचिवसहित करिब दर्जन पदाधिकारीविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा नै दायर गर्यो । जसका कारण कोषको गरिमा नै खस्किँदै गएको छ ।   

सरकारले केही दिनअघि कोषको सदस्यसचिवमा ६७ वर्षीय वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाललाई नियुक्त गरेको छ । उमेरहदका कारण उनको नियुक्ति विवादमा परेका छ । ६५ वर्षभन्दा माथिकालाई सरकारी निकायमा नियुक्ति नगर्ने सरकारको कार्यविधि रहेकाले उनको नियुक्तिमा प्रश्न उठेको हो। 
 

सुझावित समाचार