एनभिए भलिबल च्याम्पियनसिप : बुढानीलकण्ठ र कोशी क्वार्टरफाइनलमा

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

बुढानीलकण्ठ भलिबल क्लब र कोशी प्रदेश भलिबल संघले नवौँ एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । समूह ‘सी’को उपविजेताका रूपमा बुढानीलकण्ठ अन्तिम आठमा पुगेको हो । बुढानीलकण्ठले बुधबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरेको हो । 

जावलाखेल प्रतियोगिताबाट बाहिरिएको छ । बुढानीलकण्ठले अब सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’को विजेता हेल्प नेपाल स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ । यसैगरी, समूह ‘डी’को उपविजेताको हैसियतमा कोशीले अन्तिम आठमा स्थान पक्का गरेको हो । कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । कीर्तिपुरविरुद्ध कोशी २५–२३, २५–२० र २५–२३ ले विजयी भयो । कोशीले क्वार्टरफाइनलमा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सबै क्वार्टरफाइनलमा बिहीबार हुने आयोजकले जनाएको छ । 

पुलिस अपराजित
महिलातर्फ भने नेपाल पुलिस क्लब समूह चरणमा अपराजित रह्यो । समूह ‘बी’को विजेता बन्ने क्रममा पुलिसले अन्तिम खेलमा मधेश प्रदेश खेलकुद विकास परिषद्लाई ३–० को सोझो सेटमा हरायो । यसअघि पुलिस लगातार दुई जितका साथ अन्तिम चारमा पुगेको थियो । पुलिसले मधेशलाई २५–३, २५–८ र २५–९ ले पराजित गर्यो । जितसँगै पुलिसले सर्वाधिक ९ अंक‌ जोडेको छ । ७ अंकका साथ नेपाल एपिएफ समूह ‘बी’को उपविजेता बन्यो । फाइनल प्रवेशको खेलमा पुलिसले समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्नेछ । एपिएफले समूह ‘ए’को विजेता न्यु डायमन्ड स्पोर्टस् क्लबको सामना गर्नेछ । 

See More On

सुझावित समाचार