नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)ले हरेक वर्ष रोपाइँ गर्ने वेलामा दोहोरिँदै आएको मल अभाव समाधान गर्न नेपाल–भारत संयुक्त लगानीमा मल उत्पादन कारखाना स्थापना गर्ने प्रस्ताव अघि सारेको छ।
निक्कीका अध्यक्ष सुनील केसीले भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोदकुमार मेहेरदासँग काठमाडौं भ्रमणका क्रममा भएको अन्तर्क्रियामा उक्त प्रस्ताव राखेका हुन्।
मलको अनियमित आपूर्तिका कारण नेपाली कृषि क्षेत्रले भोग्दै आएको चुनौती औँल्याउँदै अध्यक्ष केसीले द्विपक्षीय सहकार्यमार्फत दीर्घकालीन र संरचनागत समाधानको आवश्यकता रहेको उल्लेख गरे।
‘समयमै मल उपलब्ध नहुनु नेपालमा कृषि उत्पादन बढ्न नसक्नुकाे प्रमुख कारणहरूमध्ये एक हो,’ उनले सोमबारको बैठकमा भने, ‘मल उत्पादन कारखानामा संयुक्त लगानीले नेपालमा दीर्घकालदेखि देखिएको आपूर्ति समस्यालाई उल्लेखनीय रूपमा समाधान गर्नुका साथै क्षेत्रीय खाद्य सुरक्षामा पनि योगदान पुर्याउन सक्छ।’
यस्तो सहकार्यले दुवै देशबिचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने पनि उनले बताए। ‘यस किसिमको सहकार्यले आपूर्ति स्थायित्व सुनिश्चित गर्नुका साथै नेपाल–भारतबिचको आर्थिक एकीकरण र साझेदारीलाई थप गहिरो बनाउनेछ,’ उनले थपे।
छलफलमा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने र द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने विषयमा पनि ध्यान केन्द्रित गरिएको थियो। दुवै पक्षले दिगो कृषि अभ्यास प्रवर्द्धन, उत्पादनशीलता वृद्धि तथा यस क्षेत्रमा किसानहरूले भोगिरहेका संरचनागत चुनौतीहरूबारे विचार आदान–प्रदान गरेका थिए।
निक्की अध्यक्ष केसीको नेतृत्वमा भएको बैठकमा निक्कीअन्तर्गतको साना तथा मझौला उद्यम कार्यसमिति सदस्यहरू तथा निम्बस नेपाल र डाबर नेपाललगायतले कृषि इकोसिस्टम विशेषगरी बाली कटानपछिको व्यवस्थापनमा जोड दिँदै कृषि मूल्य शृंखला सुदृढीकरणको आवश्यकता औँल्याए।
यसैगरी, मानव पुँजी विकासको महत्त्वमा जोड दिँदै सहभागीहरूले नेपाली किसानका लागि लक्षित तालिम र क्षमता अभिवृद्धिको आवश्यकता पनि औँल्याए। दुवै देशका कृषि प्रणालीलाई एक–आपसमा परिपूरक बनाउने इकोसिस्टम विकास गर्दा तुलनात्मक लाभलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनीहरूको धारणा थियो।
निक्कीले जैविक कृषिमा सहकार्य विस्तार गर्न सकिने प्रस्ताव पनि राख्दै जैविक प्रमाणीकरणका लागि भारत सरकारको संस्थागत सहयोग आवश्यक रहेको उल्लेख गर्यो। यसप्रकारको सहयोगले नेपाली किसानलाई उच्च मूल्यका बजारमा पहुँच दिलाउनुका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादनको मूल्य अभिवृद्धि गर्न सहयोग पुग्ने सहभागीहरूले बताए।
यसका साथै चेम्बरले सीमा क्षेत्रहरूमा बाली र मौसम चक्रअनुसार सञ्चालन हुने शीतभण्डारण पूर्वाधारमा संयुक्त लगानीको प्रस्ताव गरेको थियो। यस्ता पूर्वाधारले बाली काटेपछिको क्षति न्यूनीकरण, मूल्य स्थिरता र सीमापार कृषि व्यापार सुदृढीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
निक्कीका प्रस्तावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै अतिरिक्त सचिव डा. मेहेरदाले नेपालको कृषि क्षेत्रसँग सम्बन्धित प्रमुख मुद्दाहरू संकलन गरी आफ्नो मन्त्रालयमा पेस गर्न चेम्बरलाई अनुरोध गरे। उनले दुवै पक्षका लागि लाभदायक हुने गरी सहकार्यात्मक समाधानहरू खोज्न सकिने संकेत गरे।
डा. मेहेरदा नेपाल–भारत कृषि संयुक्त कार्यदलको बैठकमा भाग लिन नेपाल आएका हुन्।