समानुपातिकमा ६४ दलका ३,४२४ उम्मेदवार : वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरी, नेताका श्रीमतीदेखि युवा उद्यमीसम्म बन्दसूचीमा

नेकपामा सबै नयाँ अनुहार, यसअघि सांसद भइसकेकालाई रास्वपाले दोहोर्‍याएन, कांग्रेस र एमालेमा पनि अधिकांश नयाँ अनुहार

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका ११० सिटका लागि ६४ दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । १३ र १४ पुसमा बन्दसूची पेस गर्ने निर्वाचन कार्यतालिका थियो । समानुपातिक निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका दलहरूको संख्या भने सय छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार ६४ दलले ५८ चुनाव चिह्नमा समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेस गरेका छन् । उनका अनुसार ६४ मध्ये ५४ दलले आ–आफ्नो निर्वाचन चिह्न र १० दलले चारवटा एकल चिह्नमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् ।

निर्वाचन आयोगले १३ र १४ पुसमा उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई आह्वान गरेको थियो । समानुपातिक निर्वाचनमा भाग लिन दर्ता भएका सय दलहरूले मंगलबार बिहानैसम्म बुझाएको बन्दसूचीलाई आयोगले दर्ता गरेको छ । कांग्रेसको बन्दसूची बिहान ११:५० मा दर्ता भएको थियो ।

प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपाले आगामी निर्वाचनका लागि समानुपातिकतर्फ सकेसम्म धेरै नयाँ अनुहार उम्मेदवार बनाएका छन् । नयाँ वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेको रास्वपामा भने उम्मेदवार छनोटमा भौगोलिक असन्तुलन देखिएको छ ।

नेकपाले ११० जनाकै सूचीमा सांसदसमेत नभएका सबै नयाँ अनुहार राखेको छ । कांग्रेसले केही नामबाहेक ०६४ पछि सांसद नबनेकालाई प्राथमिकता दिएर सूचीमा नयाँ अनुहार ल्याएको छ । एमालेले पनि दुई पदाधिकारी र केही पूर्वसांसदबाहेक ९० प्रतिशत नयाँ अनुहारलाई समानुपातिकको उम्मेदवार बनाएको छ । 

नयाँ वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेको रास्वपामा भने उम्मेदवार छनोटको सन्तुलनमा प्रश्न उठेका छन् । अध्यक्ष रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ र मोरङबाट १५ सहित एकतिहाइ उम्मेदवार दुई जिल्लाबाट समावेश गर्दा सुदूरपश्चिमबाट सबैभन्दा कम उम्मेदवार समेटिएको छ ।

यसका साथै प्राइमरी इलेक्सनमा सर्वाधिक लोकप्रिय मत ल्याउनेहरूलाई छानी–छानी पछाडि पारिएको भन्दै रास्वपामा असन्तुष्टि देखिएको छ । ठुला पुराना पार्टीले व्यावसायिक पृष्ठभूमिका मान्छेलाई नसमेटे पनि रास्वपाले केही उद्योगी, व्यवसायी, केही सेलेब्रिटी, कलाकार र सामाजिक इनफ्ल्युन्सरहरूलाई सूचीमा स्थान दिएको छ । 

कांग्रेसको बन्दसूची : राष्ट्रपतिकी छोरी र पूर्वराष्ट्रपतिका छोरा, विमलेन्द्रकी भान्जी, बलबहादुरकी श्रीमती र बहिनी पनि समेटिए 
समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति रामवरण यादवका छोराको नाम पनि समेटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि समानुपातिकमा परेका छन् । संज्ञाको नाम ६२ नम्बरमा छ भने चन्द्रमोहनको नाम भने ३१ र ७८ नम्बरमा छ । यस्तै, समानुपातिक सूचीमा विमलेन्द्र निधिकी भान्जी निनु कर्ण तथा बलबहादुर केसीकी श्रीमती रिना उप्रेती र बहिनी गोमा केसी पनि परेका छन् । यद्यपि, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सूचीमा अधिकांश नयाँलाई स्थान दिएको बताएका छन् । 

पदाधिकारीका एक्ला उम्मेदवार
१४ सदस्यीय पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र समानुपातिक सूचीमा छन् । उनी आदिवासी जनजातितर्फ पहिलो नम्बरमा छन् । यसअघि गत ०७९ मा उनी प्रत्यक्षमा पराजित भएका थिए ।

११ केन्द्रीय सदस्य समानुपातिकमा 
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीसहित ११ जना केन्द्रीय सदस्य समानुपातिक सूचीमा छन् । जसमा डा. चन्द्रमोहन यादव, विद्यादेवी तिमिल्सिना, मानबहादुर नेपाली, गंगा शाही, हरिशरण नेपाली, सीता थपलिया (उर्मिला), सीतादेवी देवकोटा, रुक्मिणी कोइराला, सुशीला ढकाल आचार्य, गोमाकुमारी भट्टराई छन् । यसअघि समानुपातिक र प्रत्यक्षबाट सांसद भएकालाई यसपटक समानुपातिकमा नसमेट्ने निर्णय भए पनि केसी परेका हुन् । 

एमालेको बन्दसूची : दश पूर्वसांसद समानुपातिक सूचीमा
एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको सूचीमा कम्तीमा दश पूर्व वा निवर्तमान सांसद परेका छन् । एमालेको दोस्रो वरीयताका उपाध्यक्ष रामबहादुर थापा आदिवासी/जनजाति ‘क्लस्टर’बाट पहिलो नम्बरमा परेका छन् । त्यस्तै, खस–आर्यबाट गुरु बराल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेललगायत नेताको नाम समावेश गरिएको छ । महिला ‘क्लस्टर’बाट एक नम्बरमा सचिव पद्मा अर्यालको नाम परेको छ । महिला संघ अध्यक्ष टुका हमाल, युवा संघका पूर्वअध्यक्ष निरुदेवी पाल, गायिकासमेत रहेकी कोमल वली, पूर्वसचेतक शान्ता चौधरी र संस्कृतिकर्मी भूमिका सुब्बालगायतको नाम समेटिएको छ । 

ईश्वर पोखरेललाई पारिएन, पाँचजनाले उम्मेदवार बन्न अस्वीकार गरे 

११औँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समानुपातिक उम्मेदवारको सूचीमा पारिएको छैन । पोखरेललाई सूचीमा समेट्न उनको प्यानलबाट जितेका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले केन्द्रीय सचिवालय बैठकमा प्रस्ताव गरे पनि ओलीले अस्वीकार गरेका छन् । ०७४ मा समानुपातिकबाटै अवसर पाएका रामबहादुर थापा बादललाई जस्तै पोखरेललाई पनि सूचीमा राख्दा दिन सकिने पार्टी एकताको सन्देशको अवसरबाट ओली चुकेको इतर पक्षको मूल्यांकन छ । तर, विष्ट र भट्टराईले सार्वजनिक रूपमा भने केही बताएका छैनन् । 

अर्कोतिर समानुपातिक सूचीमा राखिएका पाँच नेताको नाम भने हटाइएको छ । उनीहरूले उम्मेदवार बन्न अस्वीकार गर्दै अरूलाई अवसर दिन आग्रह गरेका थिए । पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएका संगठन विभागका पूर्वप्रमुख काशीनाथ अधिकारीले आफू दुईपटक सांसद भइसकेकाले नयाँलाई अवसर दिन भन्दै हटाइदिन आग्रह गरेका थिए । त्यस्तै, दोलखाका श्याम बस्नेत, डडेल्धुराका पदम जोशी, बाजुराका लालबहादुर ओली र कैलालीकी सरस्वती चौधरीले पनि नाम नराख्न आग्रह गरेअनुसार अन्तिम सूचीबाट हटाइएको थियो । 

ओलीको जिल्लाबाट ६, पोखरेलको जिल्लाबाट तीनजना सूचीमा
एमालेमा अध्यक्ष केपी ओलीको गृहजिल्लाबाट ६ र महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट तीनजनाको नाम समानुपातिक सूचीमा छ । झापाबाट सोमनाथ पोर्तेल, जितु गौतम, मेनुका काफ्ले, निता घतानी, अनिता कन्दङ्वा र विनाकुमारी साह छन् । त्यस्तै, दाङबाट कोमल वली, शान्ता चौधरी र साजिका खातुनले अवसर पाएका छन् । 

तीनपुस्ते संयोजन, ४० मुनि उमेरका जेन–जीसहित २० युवा 
एमालेले यसपटक ४० देखि ६० उमेर समूहका बढी तर तीनपुस्ते उमेर समूहको संयोजन गरेर समानुपातिक बन्दसूची छनोट गरेको जनाएको छ । ६० माथिमा उपाध्यक्ष रामबहादुर थापा बादल, पूर्वउपाध्यक्ष गुरु बराललगायत पुरानो पुस्ताका नेता छन् । पद्मा अर्याल, निरुदेवी पाल, लालबहादुर महतरा, थानेश्वर बस्याल, शान्ता चौधरी, मनोहर विक, निर्मल देउला पोडेलगायतलाई बिचको पुस्ता मानिएको छ । जेन–जी उमेरकी निता घतानीसहित ४० मुनिका भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, अनिता योङहाङ, हिरूसरा राना, सन्तबहादुर चेपाङसहित २० जना युवा सूचीमा समेटिएको केन्द्रीय सदस्य नीरज आचार्यले बताए । त्यस्तै, ६ वटा क्लस्टर समूहभित्र अपांगता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्रलगायत सबै पक्षलाई ध्यान दिएर एमालेले यसपटकको बन्दसूची बनाएको छ । पिछडिएको क्षेत्रबाट बम बिसी, लालबहादुर महतरा, लालबहादुर रावल, भगिरथी चन्द परेका छन् ।

दलितभित्र विपन्नलाई प्राथमिकता 
एमालेले दलितभित्र पनि अतिविपन्न दलितलाई प्राथमिकता दिएर सूचीमा समेटेको छ । विपन्न दलितमा पर्ने पोडे समुदायको निर्मल देउला पोडे र मायादेवी पोडे सूचीमा समेटिएका छन् । 

९० प्रतिशत नयाँ अनुहार आएको दाबी
आयोगमा बन्दसूची बुझाउने प्रक्रियामा सहभागी केन्द्रीय सदस्य नीरज आचार्यले सांसदमा एकपटक पनि अवसर नपाएका ९० प्रतिशत नयाँ अनुहारलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको दाबी गरे । सोमबार मध्यरातमा बुझाइएको बन्दसूचीमा यसअघि सांसद भएका र अवसर पाएका १० जनाभन्दा बढी पुराना अनुहार नरहेको आचार्यको भनाइ छ । ‘पदाधिकारीसहित केही नाम भने आवश्यकता र संसद्मा खेल्न सक्ने प्रभावकारी भूमिकालाई पनि ध्यान दिएर छनोट गरिएको छ,’ उनले भने । उनका अनुसार बन्दसूचीमा विगतमा जस्तो परिवार र आफन्तजनहरू पनि कोही पनि सूचीमा परेका छैनन् । पार्टीले सकेसम्म नेताका परिवार र आफन्तजन नपर्ने गरी नै सूची छनोट गरेको आफूले पाएको उनको भनाइ छ । 

नेकपामा सबै नयाँ अनुहार
समानुपातिक बन्दसूचीमा नेपाली कम्युनिस्ट पार्टीले नयाँलाई मात्र समेटेको छ । विगतमा समानुपातिक र प्रत्यक्षबाट सांसद भएका र मन्त्री भइसकेका कोही पनि नेकपाको समानुपातिक सूचीमा परेनन् । ‘विगतमा समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका, मन्त्री भइसकेकालाई यसपटक समानुपातिकमा ढोका बन्द गर्‍यौँ । प्रत्यक्ष निर्वाचित भएकालाई पनि समानुपातिकमा समेटेका छैनौँ । युवा पुस्तालाई ध्यान दिएका छौँ । आदिवासी, जनजाति, महिला, दलित, मधेशी, थारू, खसआर्य सबै क्लस्टरबाट समावेशी बनाएर बन्दसूची बुझाएका छौँ,’ नेता राजेन्द्र पाण्डेले भने । सबै क्लस्टरमा युवालाई समेटिएको नेता मुक्ति प्रधानले बताए ।

रास्वपाले दोहोर्‍याएन पुराना
रास्वपाले समानुपातिकमा पुराना सांसद दोहोर्‍याएको छैन । नयाँलाई अवसर दिनुपर्छ भनेर समानुपातिकमा नदोहोर्‍याउने नीति रास्वपाले दिएको छ । ०७९ मा १२ लाख मत ल्याएको रास्वपाबाट समानुपातिकतर्फ १३ सांसद निर्वाचित भएका थिए । 

क्षेत्रगत सन्तुलन पनि नमिलेको गुनासो छ । रास्वपाले सुदूरपश्चिम प्रदेशका आठ जिल्लाबाट उम्मेदवार नै छैन । कञ्चनपुरबाट दुईजना मात्रै छ । यसैगरी ७७ मध्ये ३५ जिल्लाबाट प्रतिनिधित्व छ । चितवनका २१, मोरङका १५, काठमाडौंका पाँच, ललितपुरका तीन र भक्तपुरका तीनजना छन् । रास्वपाले समानुपातिक उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गरेको थियो । तर, अन्तिम समयमा बालेन समूह र कुलमान घिसिङको उज्यालो नेपालसँग एकता हुँदा प्रारम्भिक निर्वाचनबाट छानिएका उम्मेदवारलाई प्राथमिकता दिन सकेन । प्रारम्भिक निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका उम्मेदवारलाई बन्दसूचीमा पछाडि राखेको भन्दै आलोचना भइरहेको छ । यद्यपि, बन्दसूची मिलाउन निर्वाचन आयोगले दिएको समयभित्र परिमार्जन गर्ने नेताहरू बताउँछन् । 

कलाकार, युवा उद्यमीदेखि पूर्वक्रिकेट कप्तानसम्म बन्दसूचीमा

रास्वपाले युवा व्यवसायी, कलाकार, मिस नेपालदेखि खेलाडीसम्मलाई बन्दसूचीमा राखेको छ । युवा उद्यमी सचिन ढकाल, गोल्डस्टारकी सञ्चालिका विदुषी राणा, पूर्वक्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वमिसनेपाल अनुष्का श्रेष्ठसम्म समेटिएका छन् । त्यस्तै, चर्चित गायक तथा अभिनेता प्रकाश सपुत, गायिका त्रिशला गुरुङ, सत्यकला राई, कलाकार तथा प्रस्तोता रिमा विश्वकर्मा, निर्देशक आसिफ शाहलगायत पनि बन्दसूचीमा छन् । 

बन्दसूचीको क्रमसंख्या नमिलाएको भन्दै पार्टीभित्र असन्तुष्टि
उम्मेदवार छान्न गरिएको आन्तरिक निर्वाचनमा लोकप्रिय मत ल्याउने केही उम्मेदवार बन्दसूचीमा पछाडि पारिएको र केहीको नाम नै नअटाएको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिएको छ । खस–आर्य पुरुषतर्फ सबैभन्दा धेरै मत पाएका रमेश प्रसाईं बन्दसूचीमा पाँचौँ नम्बरमा र महिलातर्फ धेरै मत ल्याउने रञ्जु दर्शना दसौँ नम्बरमा छिन् । आन्तरिक मतदानमा चुनिएका केही व्यक्ति मतदानमा छुटेका छन् । त्यस्तै, कुलमान घिसिङले नाता पर्नेलाई पनि बन्दसूचीमा अटाएको भन्दै असन्तुष्टि देखिएको छ । रास्वपाले भने बन्दसूचीको क्रमसंख्या सच्याउने समय बाँकी रहेकाले अन्तिम सूचीमा मिलाइने जनाएको छ । त्यस्तै, पार्टी एकताका कारण केही उम्मेदवारको नाम बन्दसूचीमा नआएको बताएको छ । 

पार्टीकै नेताहरू पनि
उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा, सहमहामन्त्री विपिनकुमार आचार्य, नेता प्रमोद न्यौपाने, लिमा अधिकारी, रमेश प्रसाईं, प्रतिभा रावल, टीका संग्रौला, क्रान्तिशिखा धिताल, अरनिकोकुमार पाँडे पनि सूचीमा परेका छन् । 

सहिद परिवार, जेन–जी अगुवादेखि अधिकारकर्मीसम्म अटाए बन्दसूचीमा
जेन–जी अगुवा पुरुषोत्तम यादव, डा. अभिषेकराज सिंह पनि समानुपातिक सूचीमा परेका छन् । डा. रामजी राम र मोहना अन्सारी पनि सूचीमा छन् । रास्वपाले बन्दसूचीमा जेन–जी आन्दोलनका सहिद परिवारलाई पनि समेटेको छ । आन्दोलनमा ज्यान गुमाएका काभ्रेका २३ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई रास्वपाले खस–आर्य क्लस्टरको ९ नम्बरमा समावेश गरेको छ । 

राप्रपाको सूचीमा अधिकांश नयाँ अनुहार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा पार्टीका ११० जना समानुपातिक बन्दसूचीका उम्मेदवार बुझाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुझाइएको सूचीमा यसअघि सांसद नभएका नयाँ अनुहार छन् । खुस्बु ओली खसआर्यतर्फ महिला क्लस्टरमा पहिलो नम्बरमा छिन् । 

सुझावित समाचार