पृथ्वीजयन्तीमा धनकुटामा दौड प्रतियोगिता र पदयात्रा हुने

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वीजयन्तीको अवसर पारेर नेपाली सेनाले दौड प्रतियोगिता र पदयात्रा गर्ने भएको छ। सुनसरीको विजयपुरगढीदेखि धनकुटाको साँगुरीगढीसम्म पुस २७ गते १० किलोमिटरको दौड प्रतियोगिता हुनेछ।

पुस २७ गतेदेखि ३० गतेसम्म तय गरिएको पदयात्रा ऐतिहासिकस्थल विजयपुरगढीदेखि धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहारा, उत्तरपानी हुँदै पाख्रीबाससम्म पुग्नेछ। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको भीमदल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले बताए।

खुला महिला–पुरुषतर्फ १० किलोमिटर र १६ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि पाँच किलोमिटर दौड प्रतियोगिता हुनेछ। १० किलोमिटरअन्तर्गत महिला–पुरुषतर्फ प्रथम हुनेलाई नगद २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। पाँच किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः १२ हजार, आठ हजार र पाँच हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि सुनसरीको धरान उपमहानगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका, साँगुरीगढी गाउँपालिका, होटेल एसोसिएसन भेडेटार, उद्योग वाणिज्य संघ सुनसरी र स्काई वाक भेडेटारले सहयोग गरेका छन्। कार्यक्रम नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरी, २ नम्बर बाहिनी हिलेको संयोजन तथा भीमदल गण सल्लरी धनकुटा र भगवती दल सुनसरी गणको आयोजनामा हुनेछ।

सुझावित समाचार