रुकुम पश्चिम भलिबल क्लब र त्रिभुवन आर्मी सोमबार नवौँ एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा पुगेका छन् । रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । पाकिस्तानी खेलाडीको मजबुत साथ पाएको रुकुम पश्चिमले जावलाखेललाई २५–२०,२५–१८,२३–२५ र २५–१८ ले हराएको थियो । यसअघि रुकुम पश्चिमले समूह ‘सी’को पहिलो खेलमा बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० सेटले हराएको थियो । रुकुम पश्चिम समूह विजेता बन्यो ।
यसैगरी, त्रिभुवन आर्मी क्लब समूह ‘डी’बाट अन्तिम आठमा पुगेको हो । आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा निराश पारेको हो । कीर्तिपुरमाथि आर्मी २५–१९,२५–२१ र २५–२१ ले विजयी भयो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई हराएको थियो । आर्मीले आफ्नो समूहमा लगातार दोस्रो जित निकालेको छ । नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् क्लब लगातार दुई जितका साथ आ–आफ्नो समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
सुदूरपश्चिमले मधेशलाई हरायो
सुदूरपश्चिम प्रदेशले जितका साथ च्याम्पियनसिपमा आफ्नो यात्रालाई अन्त्य गरेको छ । महिलातर्फ सुदूरपश्चिमले आफ्नो तेस्रो तथा अन्तिम खेलमा मधेशलाई राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ३–० को सोझो सेटमा हरायो ।
सुदूरपश्चिम २५–२१, २५–१४ र २५–१७ ले विजयी भएको थियो । यसअघि दुई खेलमा हारको सामना गरेको सुदूरपश्चिम सेमिफाइनल समीकरणबाट बाहिरिसकेको थियो । समूह ‘ए’मा नेपाल पुलिस र एपिएफ क्लबबाट सुदूरपश्चिम पराजित भएको थियो । मधेशले यसअघि एपिएफसँग हार व्यहोरेको थियो । हारसँगै मधेश पनि अन्तिम चारको दौडबाट बाहिरियो ।
न्यु डाइमन्डको दोस्रो जित
च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यु डाइमन्ड स्पोट्र्स क्लबले लगातार दोस्रो जित निकालेको छ । न्यु डाइमन्डले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१७ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । यसअघि न्यु डाइमन्डले चुली युवा क्लबलाई पराजित गरेको थियो । आर्मीले पनि चुली युवा क्लबलाई हराएको थियो ।