बर्दियाको बारबर्दिया नगरपालिका– ११, बेलभार गाउँमा दिनहुँजस्तो चितुवा आउन थालेपछि गाउँ नै चितुवाको त्रासमा छ । दिनहुँजस्तो गाउँमा दिउँसो, साँझ र राति चितुवा देखिन थालेपछि गाउँ नै चितुवाको त्रासमा परेका हुन् ।
बारबर्दिया नगरपालिका १० र ११ मा एक महिनाको अवधिमा चितुवाको आक्रमणबाट तीनजनाको मृत्यु भएको छ । बेलभार गाउँसँग जोडिएको विजयनगर डफैयालगायतको गाउँमा चितुवा आएर दिनहुँजस्तो घरपालुवा जनावर मार्न थालेपछि स्थानीयहरू त्रसित भएका हुन् । सामुदायिक वनसँग जोडिएको गाउँमा चितुवा आएर बँगुर, खसीबाख्रा मारेर खान थालेपछि स्थानीय हैरान भएका छन् । बस्तीमा चितुवा आएपछि चितुवा लखेट्न स्थानीयले भाँडा बजाउने गरेका छन् ।
जीवनयापन गर्नका लागि कृषि पेसा गर्दै आएका बेलभार गाउँका वीरबहादुर थारूले घरअगाडिको गोठमा बाँधेर राखेको करिब ३० किलोको बंगुर चितुवाले मारिदिएको बताए । उनले भने, ‘चितुवाले बंगुर मारेर अगाडिको वनमा लगेर आधा खाएको अवस्थामा बंगुर भेटियो । गाउँमा बंगुर खाने घटना दिनदिनै बढ्दै गएको छ। गाउँमा प्रायः बच्चासहितको चितुवा देखिन्छ। कति वेला कताबाट आएर कसलाई आक्रमण गर्छ भन्ने डर हुन्छ ।’ गाउँमा शनिबार साँझ ७ बजे चितुवा आएको देखेपछि गाउँका सबैजना जम्मा भएर होहल्ला र थाल ठटाएर चितुवालाई भगाएको थारूले जानकारी दिए । उनले भने, ‘चितुवाले मान्छे मारेपछि डिभिजन वन कार्यालय खोर ल्याएर दुई–चार दिन राख्छ । केही दिनपछि फेरि त्यो खोर लैजान्छ । मंसिर १२ गते गोपी थरुनीलाई चितुवाले आक्रमण गरेर मार्यो । गोपी थरुनीको मृत्यु भएपछि डिभिजन वन कार्यालयले खोर ल्याएर राख्यो । अहिले त्यो खोर अर्को ठाउँ लगेर गएको छ । तर, चितुवा गाउँमा दिनहुँ आउँछ ।’
चितुवाले आक्रमण गरेर तीनवटा बाख्रा मारिदिएको बेलभार गाउँकी सुन्तली चौधरीले बताइन् । उनले भनिन्, ‘खसी–बाख्रा बेचेर घरखर्च चलाउने गरेकी थिएँ । चितुवाले तीनवटा खसी–बाख्रा मारिदियो । अब घरखर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ । एकातिर घरखर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ भने अर्कोतिर केटाकेटीहरू कुरा बुझ्दैनन् खेल्न यताउता जान्छन् । चितुवा कुन वेला आएर के गर्छ, थाहा हुँदैन ।’
बेलभार गाउँकी विमला चौधरीले चितुवाले आक्रमण गरेर घरमा पालेको बंगुर मारे पनि कुनै निकायबाट आफूले राहत नपाएको बताइन् । दिनहुँ चितुवा आएर घरमा पालेका खसीबाख्रा, बंगुर मारेर खाइदिन्छ । राहत कसले दिन्छ ? कसरी पाइन्छ थाहा छैन । गाउँमा चितुवाको त्रास यति धेरै छ कि गाउँ पहिला कस्तो चहलपहल हुँदैन । साँझ परेपछि सबैजना घरमा बस्नुहुन्छ । गाउँमा केही समस्या परे बाहिर निस्किने वातावरण छैन । उनले भनिन्, ‘गाउँबाट दैनिक ३२९ जना सामुदायिक वनको झाडी काट्न आउने गरेका छौँ । चितुवा कहिले खेतमा आउँछ, कहिले गाउँमा आउँछ । गाउँमा सबैजना चितुवा त्रासमा छन् ।’
बेलभार गाउँका मानबहादुर चौधरीले अहिले आफू ७० वर्षको भएको र बेलभार गाउँमा बस्न थालेको पनि ४७ वर्ष भएको बताए । उनले भने, ‘पहिला गाउँमा यसरी चितुवा आएको थाहा थिएन । आजभाेलि दिनहुँ आउँछ । राति दिसापिसाब गर्न आउँदा चितुवाले आक्रमण गर्छ कि भन्ने डरले धेरैले दिसापिसाब गर्न घरभित्र बाल्टी र बाटा लग्ने गरेका छन् ।’
काला बेलभार सामुदायिक वनका अध्यक्ष धनीराम थारूले चितुवाले घरपालुवा जनावर मारेपछि डिभिजन वन कार्यालय फोटो खिचेर वडा कार्यालय सिफारिससहित ल्याउन भन्छ, तर चितुवाले घरपालुवा जनावर मारेर जंगलमा लैजान्छ । फोटो खिच्ने र प्रमाण जुटाउन गाह्रो हुने भएकोले पनि समस्या हुने गरेको बताए । उनले भने, ‘मैले घरमा पालेको बंगुर पनि चितुवाले आक्रमण गरेर मारेर लिएर गयो । प्रमाण जुटाउन नसक्दा राहत पाउन सकिनँ ।’
‘चितुवा गाउँमा आएको देखेपछि डिभिजन वन कार्यालयमा फोन गर्दा सबडिभिजन कार्यालयमा भन्नु भन्छन्, त्यहाँ फोन गर्दा पनि कुनै वास्ता हुँदैन,’ उनले भने, ‘यहाँका अधिकांश मान्छेहरू ज्याला–मजदुरी गरेर जीवनयापन गर्ने गर्छन् । ज्याला–मजदुरी गर्न जाँदा कुन वला चितुवाले आक्रमण गर्ने हो, थाहा हुँदैन । कम्तीमा चितुवालाई नियन्त्रण गरिदिएको भएको मानिस र घरमा पालेको जनावर सुरक्षित हुने थिए ।’
वन्यजन्तुकाे आक्रमणबाट मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर गोठ क्षति, खाद्यान्न बालीको क्षति, माछाको क्षति र कुखुराको क्षति भएमा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० मा राहत दिने व्यवस्था छ । तर, राहत कसरी पाउने भन्ने थाहा नपाउँदा बेलभारका स्थानीयहरू पाउनुपर्ने राहतबाट समेत बन्चित हुनुपरेको छ।