नेपाल ओलम्पिक कमिटी एनओसीको सोमबार २१औँ साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गरे ।
यस्तै, आन्तरिक लेखापरीक्षक रविन भुसालले आर्थिक वर्ष ०८१–८२ को आर्थिक विवरण प्रस्तुत गरे । कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्व गर्दै प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गरे । कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराए । त्यसअनुसार अबको वर्षमा चार ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता रहेका छन् ।
ती प्रतियोगिता जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आर्टस् गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्स रहेका छन् । यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस् कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।
त्यसै अवसरमा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस् (पिएमसी) गठनका लागि प्रस्ताव गरिएको छ । साधारणसभाले जेन–जी आन्दोलनमा सहिद हुनेलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुदमा सहभागी हुने गरेको निर्णयको स्वागत गरेको छ ।
यस्तै, साधारणसभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ । कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो । साधारणसभामा कुल २३ संघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यसअघि उद्घाटन सत्रमा महासचिव श्रेष्ठले स्वागत भाषण गरेका थिए । त्यस्तै, त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल संघका तर्फबाट बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले शुभकामना सन्देश दिएका थिए ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद विकासका लागि एनओसी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै आफ्नो संस्था नेपाली खेलकुद र खेलाडीको विकासका लागि सधैँ तत्पर रहेको बताए ।