जेन–जी आन्दोलनका कारण स्थगित २२औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी २३ पुसमा अवार्ड पोखरामा आयोजना हुने जानकारी दिएको छ । यसअघि जेन–जी आन्दोलनका कारण गत २९ भदौमा पोखरामा हुने भनिएको अवार्ड स्थगित भएको थियो । आयोजकले चार महिनापछि अवार्डको नयाँ मिति तय गरेको हो ।
यसैगरी स्पोर्टस् अवार्डमा यती एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । यती एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ । यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाका रूपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको मञ्चका महासचिव अञ्जन खड्काले बताए ।
‘विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहीँबाट भोटिङ प्रक्रिया फेरि सुरु हुनेछ,’ खड्काले भने । यस विधाको प्रतिस्पर्धामा उसुका विजय सिँजाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबुलटेनिसकी इभाना थापा रहेका छन् ।
स्पोर्टस् समिट हुने
स्पोर्टस् अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन २२ पुसमा पोखरामा एनएसजेएफ स्पोर्टस् समिट हुनेछ । मञ्चका अध्यक्ष अधिकारीले अवार्डलाई चलायमान बनाउन स्पोर्टस् समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी गराए ।
अवार्डका अन्य विषय यथावत् रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ । गोल्छा ग्रुपसँगको मुख्य प्रायोजकको सम्झौताअनुरूप सहकार्य हुने नै छ । पोखरा महानगरपालिकाले अवार्डमा सहकार्य गर्नेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ ।
त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आइएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, बागमती प्रदेश खेलकुद विकास परिषद्, नेपाल पर्यटन बोर्ड र आइएमई हस्पिटालिटी पनि पार्टनरका रूपमा रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड, २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।