‘सडकमै खाऔँ, सडकमै नाचाैँ र सडकमै रमाऔँ’ भन्ने नारासहित पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल किनारमा २७औँ संस्करणको पोखरा सडक महोत्सव ०२६ सुरु भएको छ ।
अंग्रेजी नयाँ वर्ष ०२६ को अवसर पारी रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको सुरु गरेको महोत्सव १७ पुससम्म चल्नेछ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले रेवानले महोत्सव अयोजना गर्दै आएको हो ।
महोत्सवले पोखरा र आसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहनलगायतलाई जगेर्ना गर्दै विदेशी पर्यटकमाझ चिनाउन सहयोग गर्ने आयोजकको विश्वास छ ।
आइतबार आयोजित कार्यक्रमबिच भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटनपछि मन्त्री घिसिङले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले काम गरिरहेको बताए । पोखरासँगै भौरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे यस क्षेत्रको अर्थतन्त्र चलायमान गर्न थप सहयोग मिल्ने उनको भनाइ थियो ।
फेवा ताल संरक्षणका लागि विभिन्न विषयहरू उठिरहेको अवस्थामा यसका लागि तीन तहका सरकारले हातेमालो गरेर काम गर्न आवश्यक रहेको उनको जोड थियो । ग्रिन करिडोरका लागि पोखरा, चितवन र लुम्बिनीमा काम भइरहेको, पोखरामा विद्युत् लाइन अन्डरग्राउन्डिङ गर्ने काम जारी रहेको उनले बताए।
अर्को प्रंसगमा २१ फागुनका लागि तय भए निर्वाचन सफल बनाउनु नै हालको सरकारको प्रमुख कार्यभार रहेकाले यसलाई सफल पार्न सबै क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । निर्वाचनमार्फत सही नेतृत्व छान्न आग्रह गरेका उनले भष्ट्राचार नियन्त्रण, सुशासन, रोजगारी सृजना, गरिबी हटाउँदै समृद्धि ल्याउनेलगायतका विषयका काम गर्ने नेता छानेर मत दिन मन्त्री घिसिङले सुझाव दिएका थिए।
महोत्सव उद्घाटनअघि लेकसाइडको हल्लनचोकबाट विभिन्न जातजाति, आमा समूह, संघसंस्थासँगै देशका विभिन्न स्थानबाट आएका सांस्कृतिक समूहको झाँकी र नृत्यसहितको र्याली पार्कमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जहरेवरसम्मको करिब चार किलोमिटर क्षेत्रको सडकमा सञ्चालन भएको पाँचदिने महोत्सवमा रेवानमा आबद्ध रेस्टुरेन्टसँगै खाना र अन्य गरी चार सयभन्दा बढी स्टल रहेकाे आयोजक रेवानका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र सडकबाटै पर्यटकलाई सेवा दिने उनले बताए । महोत्सव सञ्चालन गरिएका सडक क्षेत्रसँगै फेवाताल किनारालाई आयोजक, व्यवसायी एवं स्थानीयले ध्वजापताका, ब्यानर, स्वागतद्वार, रंगीचंगी बत्तीहरू राखेर झकिझकाउ पार्दै बेहुलीझैँ सिंगारेका छन्।