- आमभारतीय जलवायु परिवर्तनको गम्भीरता आत्मसात् गरी यसविरुद्ध ठोस कदम चाल्न दबाब दिनुभन्दा नयाँ परिस्थितिमा बानी पार्दै छन्
जलवायु संकट ‘सामान्य परिघटना’ बन्नु खतरानाक विषय हो । प्राणघातक लु, रोजगारी र घरपरिवार विनाश गर्ने बाढी, समयभन्दा ढिलो आउने वा आउँदै नआउने हिउँदजस्ता विषम परिस्थिति अहिले भारत र वरपरका क्षेत्रमा आपत्कालीन अवस्थाभन्दा सामान्य मौसमी समस्या तथा कष्ट मानिन थालेको छ । भारतलगायत दक्षिण एसियाभरका करोडौँ किसान खेतीका लागि मनसुन तथा मौसमी बदलीमा निर्भर छन् । यस्तोमा जलवायु परिवर्तन हरेक बहसको केन्द्रमा हुनुपर्ने हो । तर, अझै यो विषयले महत्व पाउनु त कता हो कता, चासोमै परेको छैन ।
बढ्दो गर्मीले अहिले विश्वमा हरेक मिनेटमा एकजना अतिरिक्त व्यक्तिको ज्यान लिइरहेको छ । भारतभित्र मात्र नौ महिनामा ४,०६४ जनाको यसै कारण मृत्यु भएको रेकर्ड छ । विषम मौसमी घटनाबाट विश्वभर हुने कुल आर्थिक क्षतिको ४.२ प्रतिशत हिस्सा भारतले भोगिरहेको छ । तैपनि, यहाँ यो विषय पत्रिकाको पहिलो पन्नाको हेडलाइन बन्दैन, टिभी च्यानलमा बहसको विषय बनेकै छैन ।
जलवायु परिवर्तनसम्बन्धी प्रकोप एकअर्काबाट अलग परिघटना होइनन् । खासमा यी विस्तारै निर्माण हुने प्रभावका परिणत हुन्, जुन अहिले टड्कारो हुँदै गएका छन् । हामी अहिले संकटको सुरुवाती चरणमै छौँ । तर, संकटको विकरालताप्रति ब्युँझनुको सट्टा मानिस यसलाई ‘न्यु नर्मल’का रूपमा लिँदै छन् । सबैभन्दा बढी चिन्ताको विषय यही संकटको आम स्वीकारोक्ति हो । तापक्रम बढ्दै गइरहेको छ, पानी सुक्दै छ, हावा श्वास फेर्न नसकिने गरी प्रदूषित हुँदै छ, तर आममानिस भने यसविरुद्ध ठोस कदम चाल्न दबाब दिनुभन्दा नयाँ परिस्थितिमा बानी पार्दै छन् ।
गृष्ममा भारतीय सहरहरूको तापक्रम हिजोआज ४५–५० डिग्री सेल्सियससम्म पुग्छ । यस्तोमा बाहिर काम गर्ने कामदार निर्माणस्थलमै बेहोस हुन्छन् । असह्य गर्मीपछि केही समय विद्यालय बन्द गरिन्छ । तातो हावा चल्न थालेपछि पानीका ट्यांकर सहरवासीको जीवनरेखा बन्छ । गर्मीमा चल्ने तातो लहर अब भारतका लागि वातावरणीय मुद्दा मात्र होइन, शासनकै संकट हो । यो ज्याला र जनस्वास्थ्य संकटको मुद्दा हो ।
जलवायु विज्ञहरूले सन् २०५० सम्ममा तापक्रम मानव सहनशीलताभन्दा बढी हुने देशहरूमा भारत पहिलो स्थानमा हुने चेतावनी दिएका छन् । गृष्मको तातो लहरको आद्र्रता बढेकाले यो थप विनाशकारी हुँदै गएको छ । यसलाई बलेको बल्बमा भिजेको कपडा बेर्दाको प्रभाव अर्थात् ‘वेट बल्ब’ तापक्रम भनिन्छ, जुन सुक्खा गर्मीभन्दा धेरै खतरनाक हुन्छ । हालैका वर्ष, ७० प्रतिशतभन्दा बढी भारतीयले गम्भीर तातो हावाको लहर, खडेरी, पानीको अभाव र निसास्सिने वायु प्रदूषणको अनुभव गरेका छन् ।
मिहीन रूपमा हेरियो भने जलवायु संकट वर्गीय संकटका रूपमा देखिन्छ । अर्थात् गर्मीले सबैलाई समान रूपमा असर गर्दैन । वातानुकूलित कोठा, लचिलो कामको तालिका र उचित चिकित्सा सेवा लिन सक्ने क्षमता भएकाहरूका लागि बढ्दो तापक्रम सामान्य असुविधा मात्र हो । तर, दैनिक ज्यालादारी गर्ने मजदुर, निर्माण कामदार, सफाइकर्मी, किसान, डिजिटल क्षेत्रका ‘गिग’ कामदारका लागि बढ्दो तापक्रम तिनको जीवनका लागि प्रत्यक्ष खतरा हो । उच्च तापक्रममा शरीरको ख्याल गरेर बिदामा बसियो भने परिवारको सामान्य आवश्यकता पुर्याउन गाह्रो हुन्छ । जलवायु परिवर्तन केवल पग्लँदो हिमनदी वा बढ्दो समुद्री तहको कथा मात्र होइन, यो पहिल्यै अधिक श्रम गरिरहेकाहरूमाथिको बज्रपात हो ।
जलवायु परिवर्तनविरुद्धको कदमलाई अझै दया वा सद्भावका कारण उठाइने विषयका रूपमा हेर्नुहुँदैन । यो कानुनी, नैतिक र जीवन बचाउने जिम्मेवारी हो । भारतजस्ता देशका लागि पहिल्यैदेखि भन्ने गरिएको ‘विकास र जलवायु न्यायलाई अलग गर्न सकिँदैन’ भन्ने नाराले थप बल पाएको छ । औद्योगिकीकरणबाट सबैभन्दा बढी लाभ उठाउने देश तथा समूहले यस संकटले निम्त्याएको बोझको असमान हिस्सा वहन गर्नुपर्छ । आममानिसले पनि भावी खतराको गम्भीरता बुझेर समयमै समाधानको माग गर्नुपर्छ । भारतलगायत विश्वभर कमजोर जनसंख्याले पहिल्यै जलवायु परिवर्तनको सबैभन्दा ठुलो मूल्य चुकाइरहेका छन् । समयमै सम्बोधन प्रयास गरिएन भने यसले थप विनाशकारी शृंखला निम्त्याउनेछ, जसमा सामाजिक, आर्थिक र राजनीतिक असरसमेत पर्नेछ ।
(युट्युबमा ‘इन्डिया दिस विक’ साप्ताहिक सो चलाउने बेगम स्तम्भकार तथा टिभी समाचार प्यानलिस्ट पनि हुन्)
द प्रिन्टबाट