एनभिए क्लब च्याम्पियनसिपमा पुलिसको दोहोरो जित

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

नेपाल पुलिस क्लबले नेपाल भलिबल संघ (एनभिए) महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा दोहोरो जित निकालेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार सुरु भएको च्याम्पियनसिपमा पुलिसले महिला र पुरुषतर्फ जित निकालेको हो । महिलामा पुलिसले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । महिलातर्फ त्रिभुवन आर्मी, पुरुषतर्फ पुलिस र हेल्प नेपाल पनि विजयी भएका छन् । 

राष्ट्रिय टोलीका खेलाडीहरू उषा भण्डारी, पुनम चन्द, रिमा कुँवर, कामना विष्ट, शान्तिकला तामाङ, कमला पुन चम्किएको प्रतिस्पर्धामा पुलिसले पहिलो सेट २५–१० ले जित्यो । त्यसपछि पुलिसले सुदूरपश्चिममाथि एकोहोरो दबाब बनाउँदै दोस्रो सेट २५–६ ले जित्यो । तेस्रो सेटमा पुलिस २५–११ ले विजयी हुँदै तीन अंक जोड्यो ।

आठ टोली सहभागी लिगमा पुलिस समूह ‘बी’मा छ । अब, पुलिसले मंगलबार नेपाल एपिएफसँग खेल्नेछ । यो खेल जिते पुलिस एक अगाडि नै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’मा मधेश प्रदेश खेलकुद परिषद् पनि रहेको छ । काभा क्लब च्याम्पियनसिपअघि पुलिसले यो प्रतियोगिता खेल्न लागेको हो । पुरुषतर्फ पुलिसले प्रतिस्पर्धात्मक खेलमा ढोरपाटन क्लबलाई ३–१ को सेटमा हरायो । अनुभवी खेलाडी दीपकराज जोशीको साथ पाएको पुलिसले ढोरपाटनविरुद्ध पहिलो सेट २५–२० तथा दोस्रो सेट २५–१४ ले हात पार्यो । 

तेस्रो सेटमा ढोरपाटनले उत्कृष्ट कमब्याक गर्दै ३५–३३ ले जित्न सफल भयो । बराबरीतर्फ उन्मुख चौथो सेटमा पुलिसले २५–१४ ले जित्यो । पुलिसलाई दीपकसँगै भीमबहादुर गाहा, रविन नगरकोटी, पहल गहतराजजस्ता खेलाडीले राम्रो साथ दिएका थिए । समूह ‘बी’मा रहेको पुलिसले आइतबार अब खिल्जी युवा क्लबलाई हराउँदा क्वार्टरफाइनलमा स्थान बनाउनेछ । 

च्याम्पियनसिपको महिलातर्फ आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हरायो । आर्मीले सहज जित निकाल्ने क्रममा २५–१६, २५–१४ तथा २५–२३ ले विजयी भयो । राष्ट्रिय टोलीबाट खेलिरहेकी आरती सुवेदीसहित अनुभवी जानकी भण्डारी, सुनीता खड्का, संगम महतोजस्ता खेलाडी टिममा रहँदा आर्मी खेलमा बलियो पकड बनाउन सफल भयो ।  

हेल्प नेपाललाई पाकिस्तानी खेलाडीको साथ
तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले पुरुषतर्फ विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले कुनै पनि समय एपिएफलाई खेलमा हाबी हुन दिएन । हेल्प नेपाल २५–२१, २५–२० र २५–२० ले विजयी भयो । हेल्प नेपालबाट पाकिस्तानका मुबासर राजा, फखर उद्दिन र मुहम्मद कासिफ नविदले प्रतिस्पर्धा गरेका थिए । एपिएफमा राष्ट्रिय टोलीबाट खेलिसकेका विनोद चन्द, महेन्द्र श्रेष्ठसँगै सैलेन्द्र यादव, रूपेन्द्र गैरेजस्ता खेलाडी थिए । हेल्प नेपालका विदेशीअगाडि घरेलु खेलाडी निरीह नै रहे । समूह ‘ए’मा हेल्प नेपालले तीन अंक बटुल्यो । मणिमुकुन्द भलिबल क्लबलाई आइतबार हुने खेलमा हराउँदै क्वार्टरफाइनल स्थान पक्का गर्नेछ । 

See More On

सुझावित समाचार