बेलायत, क्यानडा र जर्मनीसहित चौध देशले नियन्त्रित वेस्ट बैंकमा १९ वटा नयाँ बस्ती निर्माणलाई अनुमोदन गर्ने इजरायली सुरक्षा क्याबिनेटको निर्णयको निन्दा गरेका छन् । यस कदमले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र अस्थिरता बढाउने ती देशले बताएका छन् । इजरायलले गत आइतबार वेस्ट बैंकमा नयाँ यहुदी बस्तीको प्रस्तावलाई अनुमोदन गरेको थियो । योसँगै त्यस भागमा यहुदी बस्तीको संख्या ६९ पुगेको वर्तमान इजरायली सरकारका उग्र दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले भने । ‘हामी इजरायललाई बस्तीको विस्तार रोक्न र पछिल्लो निर्णय उल्ट्याउन आह्वान गर्छाैं,’ १४ देशको संयुक्त विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा बेलायत, क्यानडा र जर्मनीका अतिरिक्त बेल्जियम, डेनमार्क, फ्रान्स, इटली, आइसल्यान्ड, आयरल्यान्ड, जापान, माल्टा, नेदरल्यान्ड्स, नर्वे र स्पेन पनि समावेश छन् ।
‘वेस्ट बैंक क्षेत्रमा एकपक्षीय रूपमा बस्ती निर्माणको तीव्रताले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन मात्र गर्दैन, थप अस्थिरतालाई पनि बढावा दिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी इजरायललाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव २३३४ अनुसार यो निर्णय उल्ट्याउन आह्वान गर्छौं ।’ इजरायलको पछिल्लो विस्तार योजनामा यसअघि सन् २००५ मा असंलग्न योजनामा खाली गरिएका दुई बस्तीसमेत समावेश छ । वर्तमान सुरक्षा क्याबिनेटले वेस्ट बैंकमा यहुदी बस्तीको संख्या बढाउँदै लगेको छ । सन् २०२२ मा, वेस्ट बैंकमा १४१ बस्ती थिए । पछिल्लो स्वीकृतिपछि, यहुदी बस्तीको संख्या २१० पुगेको वेस्ट बैंकमा यहुदी बस्ती विस्तारको विरोधी संस्था पिस नाउले जनाएको छ ।
प्यालेस्टाइनी भूमि बेस्ट बैंकमा बनाइएका यहुदी बस्तीलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत अवैध मानिन्छ । १४ देशले विज्ञप्तिमा ‘प्यालेस्टिनीहरूको आत्मनिर्णयको अधिकारको’ दृढ समर्थन गर्ने बताएका छन् । ‘हामी संयुक्त राष्ट्र संघ सुरक्षाको परिषद्को प्रस्तावअनुसार दुई–राज्य समाधानमा आधारित व्यापक, न्यायपूर्ण र दिगो शान्तिप्रतिको हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छौं । हामी पहिले सहमत भएको दुई–राज्य समाधानको कुनै विकल्प नभएको पुन: दोहोर्याउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।