नवौँ राष्ट्रिय भलिबल लिग आजबाट : १२ पुरुष र आठ महिला टोली प्रतिस्पर्धामा

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण
नवौँ राष्ट्रिय भलिबल लिग आजबाट : १२ पुरुष र आठ महिला टोली प्रतिस्पर्धामा

नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको टाइसिट ‘ड्र’मा सहभागी टोलीका अफिसियल ।

  • नेपाल भलिबल संघको आयोजनामा हुने राष्ट्रिय लिगमा सहभागी २० मध्ये १४ टोली प्रधानमन्त्री कपमा छनोट हुने

नेपाल भलिबल संघको आयोजनामा नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुक्रबारदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुँदै छ । १९ पुससम्म चल्ने च्याम्पिनयसिपमा २० टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ १२ र महिलातर्फ आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगमा छनोट हुने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

चन्दले प्रतियोगिताको तयारी पूरा भएको बताएका छन् । ‘संघले आयोजना गर्ने यो बृहत् प्रतियोगिता हो, यसको तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘सहभागी २० टोलीले कभर्ड हलमा उत्कृष्ट खेल देखाउने अपेक्षा छ ।’ राखेपले गत वैशाखदेखि भदौसम्म कर्भल हलको मर्मत गरेको थियो । यस अवधिमा राष्ट्रियस्तरका भलिबल प्रतियोगिता पोखरामा भएको थियो । गत भदौमा कभर्ड हल अन्तर्राष्ट्रिय सुविधायुक्त भएपछि संघले एनभिए भलिबल आयोजना गर्न लागेको हो । 

कभर्ड हलको मर्मत पूरा नहुँदा एभरेस्ट महिला भलिबल लिग पनि पोखरामा भएको थियो । तर, जेन–जी आन्दोलनले रोकिएको लिगका बाँकी खेल कभर्ड हलमै भएको थियो । घरेलु तथा विदेशी खेलाडीले कभर्ड हलमा नौलो अनुभव गर्ने अवसर पाउनेछन् । प्रतियोगितामा सहभागी तीन विभागीयबाहेक अन्य क्लबले टोलीमा तीनजना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान छ । प्रतियोगिताको खेलतालिका सार्वजनिक भइसकेको छ । शुक्रबार हुने उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ क्लबबिच दिउँसो ३ बजे खेल हुनेछ । प्रतियोगितामा हरेक दिन चार खेल हुने अध्यक्ष चन्दले बताए । 

हेल्प नेपालमा पाकिस्तानका तीन खेलाडी
हेल्प नेपालले उपाधि जित्ने लक्ष्यसहित तीनजना पाकिस्तानी खेलाडीलाई समावेश गरेको छ । हेल्प नेपालले मुबासर राजा, फखर उददिन र मुहम्मद आसिफ नविदलाई अनुबन्ध गरेको हो । यी तीनै खेलाडीले अघिल्लो एनभिएसँगै विभिन्न प्रतियोगिता खेलिसकेका छन् । नेपालको भलिबलमा पाकिस्तानका राजा, फखर र आसिफ अनुभवी विदेशी खेलाडीका रूपमा रहेका छन् ।

यसैबिच, हेल्प नेपालले प्रशिक्षकमा उत्सव खड्कालाई जिम्मेवारी दिएको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान मानबहादुर श्रेष्ठ हेल्प नेपालमा छैनन् । अस्ट्रेलियामा भविष्य बनाउन उनी त्यसतर्फ लागेका हुन् । हेल्प नेपालमा घरेलु खेलाडीमा सुवास कुँवर, चन्द्रबहादुर राना, सन्तोष राई, विष्णुबहादुर क्षेत्री, टोपबहादुर क्षेत्री (दीपक), चिरञ्जीवी खड्का, मनीष मानन्धर, प्रदीपकुमार चौधरी र नरबहादुर सुनार रहेका छन् । हेल्प नेपाल समूह ‘ए’मा छ । यस समूहमा हेल्प नेपालले एपिएफ र मणिमुकुन्द भलिबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

न्यु डायमन्डबाट प्रतिभाको पुनरागमन 
न्यु डायमन्ड एकेडेमीकी स्टार खेलाडी प्रतिभा मालीले एनभिए लिगबाटै घरेलु भलिबलमा पुनरागमन गर्दै छिन् । अस्ट्रेलियामा रहेकी उनले यसअघिका घरेलु प्रतियोगिता खेलेकी थिइनन् । न्यु डायमन्डबाट उनले लिग खेल्ने निश्चित भइसकेको एकेडेमीले जनाएको छ । प्रतिभाको आगमनले न्यु डायमन्ड बलियो भएको प्रशिक्षक कुमार राईले बताए । न्यु डायमन्डको कप्तानी लिबेरो सलिना श्रेष्ठले गर्नेछिन् । प्रशिक्षक राईले च्याम्पियनसिप उपाधि फर्काउने योजनासहित १६ सदस्यीय टोली घोषणा गरेका छन् ।

सहायक प्रशिक्षकमा ललित नाथ छन् । राष्ट्रिय टोलीबाट खेलिरहेका स्पाइकर सुमित्रा रेग्मी र सेटर प्रगति नाथको साथ टोलीलाई छ । नेपालको उमेर समूहबाट खेलिसकेका जेनिशा विश्वकर्मा, अञ्जिला प्रधान, सलिना बुढामगरसहित निशा महरा, नमसर राना, सुनिता खत्री, रेविका लामा तामाङ र सरिका कार्कीले न्यु डायमन्डबाट लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलाडी धिरोज बुढानीलकण्ठमा
नेपाली राष्ट्रिय भलिबल टोलीका स्पाइकर धिरोजकाजी बस्नेतले बुढानीलकण्ठ भलिबल क्लबबाट खेल्ने भएका छन् । यसअघिका संस्करणमा हेल्प नेपाल र नेपाल एपिएफ क्लबबाट खेलिसकेका धिरोजले नवौँ संस्करणमा बुढानीलकण्ठबाट खेल्ने निर्णय गरेका हुन् । मुख्य प्रशिक्षकको भूमिका राम खड्काले निर्वाह गर्ने क्लबले जनाएको छ । बुढानीलकण्ठले विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । धिरोजसहित दिलीप राई, नवीन श्रेष्ठ, सुरेश मल्ल, पारस बोहरा, भुवन पाठक, विकास तामाङ, पुस्कल थापा, अर्जुन मल्ल, पुस्कर मगर र शंकर तामाङको टोली बुढानीलकण्ठले बनाएको छ ।

गण्डकी सहभागी नहुने
गण्डकी प्रदेशका महिला तथा पुरुष टोलीले प्रतियोगितामा भाग नलिने भएका छन् । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती पस्कँदै आएकोे गण्डकीले आन्तरिक कारण देखाउँदै सहभागी नहुने जनाएको छ । गण्डकी प्रदेशले आर्थिक कारण सहभागी हुन नसकेको कार्यवाहक अध्यक्ष राजेन्द्र जिसीले बताए । ‘आर्थिक कारण टिम सहभागी गराउन नसकेको भनी जानकारी गराएका छौँ,’ उनले भने, ‘प्रदेशका खेलाडी पनि युएईमा हुने भलिबल प्रतियोगिता खेल्न जानका लागि भिसा आइसकेको रहेछ, त्यही भएर प्रदेशले नखेल्ने बताएको हो ।’ 

तीनजना विदेशी खेलाडी राख्न पाइने
संघले सहभागी टोलीमा कम्तीमा तीनजना विदेशी खेलाडी राख्न पाइने जनाएको छ । तर, विभागीय टोलीले भने विदेशी खेलाडी समावेश नगर्ने भएका छन् । हेल्प नेपालसँगै रुकुम पश्चिम ट्रेनिङ सेन्टर (कर्णाली प्रदेश)ले पाकिस्तानका तीन खेलाडी अनुबन्ध गरेका छन् । पश्चिम रुकुमले पनि पाकिस्तानका माजर अली खान, वालिद खान र अहमद खानलाई अनुबन्ध गरेको छ । यी खेलाडीले पनि नेपालमा यसअघि नै विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

विजेताले पाँच लाख पाउने
नेपाल भलिबल संघले महिला तथा पुरुष टोलीको विजेताको पुरस्कार धनराशि सामन राखेको छ । च्याम्पियनसिपको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । पुरुष तथा महिलातर्फ तेस्रोे हुनेले एक लाख २५ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुने हरेक खेलाडीले १५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष चन्दले बताए । 
 

सुझावित समाचार