बागमती प्रदेशमा यातायात सेवा विस्तारको क्रममा श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाको अस्वाभाविक चासो र हस्तक्षेपले विवाद उत्पन्न भएको छ । सम्बन्धित कार्यालयको खरिद प्रक्रिया पूरा नहुँदै यातायात व्यवस्था कार्यालय बालाजुको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालनसम्बन्धी टेन्डर प्रक्रिया रोक्न मन्त्रीले कर्मचारीलाई दबाब दिएका छन्।
यातायात व्यवस्था कार्यालय, बालाजुले ट्रायल सेन्टर सञ्चालनका लागि ०८२ मंसिर २६ गते सूचना प्रकाशित गरी सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । तर, प्रक्रिया सुरु भएको केही समयमै मन्त्री थापाले आफ्नै लेटरहेड प्रयोग गरी सातबुँदे निर्देशनसहित उक्त सूचना तत्काल स्थगन गर्न आदेश दिएका हुन् । मन्त्रीको यो कदम मन्त्रिपरिषद्को निर्णय र मन्त्रालयकै पूर्वनिर्देशनविपरीत भएको आरोप लागेको छ। सेवाग्राहीको सहजताका लागि ०८० सालको मन्त्रिपरिषद् बैठकले संगठन संरचना स्वीकृत गर्दै बनेपामा नयाँ यातायात कार्यालय स्थापना गर्ने तथा बालाजु र कोटेश्वरमा सेवा विस्तार गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि ०८२ असोजमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले कार्यालयलाई प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले नागरिकलाई सहज सेवा दिने उद्देश्यसहित निर्णय कार्यान्वयनमा जोड दिएको थियो। यातायात व्यवस्था कार्यालय, बालाजुका कार्यालय प्रमुख चेतनाथ भट्टराईका अनुसार मन्त्रिपरिषद् र मन्त्रालयकै निर्देशनअनुसार कार्यालयलाई ‘फुल फेज’मा लैजान ट्रायल सेन्टर सञ्चालनका लागि टेन्डर आह्वान गरिएको थियो । तर, मन्त्री थापाले मन्त्रालयको औपचारिक च्यानल प्रयोग नगरी व्यक्तिगत लेटरहेडमा पत्र पठाएर प्रक्रिया रोक्न दबाब दिएका छन् ।
यता मन्त्रालयका सचिव रामबाबु पुरीले मन्त्रीको पत्रबारे आफूलाई औपचारिक जानकारी नभएको बताए । पत्राचार भएको समयमा आफू बिदामा रहेकाले तत्काल प्रतिक्रिया दिन नसक्ने भन्दै उनले कार्यालय र मन्त्रालयबिच छलफलपछि मात्र धारणा राख्ने बताए । सार्वजनिक लेखा समितिको निर्णयसम्बन्धी जानकारी आएको भए पनि आफूले कुनै पत्र प्राप्त नगरेको उनको भनाइ छ ।
मन्त्रीको पत्रमा के–के आधार ?
मन्त्री थापाले पठाएको पत्रमा ट्रायल सेन्टर छनोटसम्बन्धी सूचना स्थगन गर्न सातवटा आधार उल्लेख छन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, उच्चस्तरीय प्रशासनिक पुनर्संरचना निर्देशन समितिको कार्य प्रगतिमा रहेको अवस्था, प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार सुझाव समितिको प्रतिवेदन नआइसकेको अवस्था र सार्वजनिक लेखा समितिको निर्देशनलाई आधार बनाएर प्रक्रिया रोक्न आदेश दिइएको पत्रमा उल्लेख छ ।
पत्रमा सेवा विस्तार गर्दा जनतालाई हुने लाभ–हानि र सहजता–असहजताको वस्तुनिष्ठ अध्ययन नभएको, नयाँ संरचना थप्नुअघि प्रशासनिक पुनर्संरचनासम्बन्धी अन्तिम प्रतिवेदन कुर्नुपर्ने राजनीतिक सहमति रहेको तथा मन्त्रालयसँग समन्वय नगरी सूचना प्रकाशित गरिएको दाबी गरिएको छ। साथै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ राखी आएका गुनासाका आधारमा पनि सूचना स्थगन गरिएको जनाइएको छ ।
सुधारविना अगाडि बढ्दैन : मन्त्री थापा
यस विषयमा प्रतिक्रिया दिँदै मन्त्री जयराम थापाले यातायात क्षेत्रमा व्याप्त बेथिति अन्त्य र प्रशासनिक पुनर्संरचना नगरी नयाँ प्रक्रिया अघि बढ्न नसक्ने बताए । मन्त्रालय र मन्त्रीलाई जानकारी नै नदिई पुरानो संगठन संरचनाअनुसार सूचना प्रकाशित गरिएको भन्दै आफू हस्तक्षेप गर्न बाध्य भएको उनको भनाइ छ । ‘यातायात क्षेत्रमा धेरै जनगुनासो छन् । खर्च कटौती र सुशासन अहिलेको आवश्यकता हो,’ उनले भने, ‘यो प्रक्रिया पूर्ण रूपमा खारेज गरिएको होइन, अध्ययन प्रतिवेदन नआउन्जेलका लागि मात्र स्थगित गरिएको हो । सुधार र पुनर्संरचनाविना यातायातको काम अगाडि बढ्दैन ।’ मन्त्रीको हस्तक्षेपपछि सेवा विस्तारमा ढिलाइ हुने र सेवाग्राही मारमा पर्ने आशंका बढेको छ ।