- २४ घण्टा कुहिरो र हुस्सु रहँदा घाम लाग्नै छाड्यो, अधिकतम र न्यूनतम तापक्रमको दूरी घट्दा दिउँसो पनि रातिजस्तै चिसो
तराई–मधेशमा पछिल्लो एक सातादेखिको हुस्सु र कुहिरो लम्बिँदा शीतलहर चल्न थालेको छ । २४ घण्टा नै कुहिरो र हुस्सु रहँदा घाम लाग्न छाडेको छ भने अधिकतम र न्यूनतम तापक्रमको औसत भिन्नता (दूरी) घट्दा दिउँसो पनि रातिजस्तै चिसो महसुस हुन थालेको छ । जसकारण विपन्न, वृद्धवृद्धा र बालबालिका मारमा परेका छन् । पालिकाहरूले विद्यालयमा जाडो बिदा दिन थालेका छन् ।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त विवरणअनुसार तराई क्षेत्रमा बुधबार सरदर अधिकतम तापक्रम ६.३ डिग्री सेल्सियससम्म कम मापन भएको छ । त्यस्तै, अधिकतम र न्यूनतम तापक्रमको औसत भिन्नता (दूरी) पनि ३.५ डिग्री सेल्सियससम्म झरेको छ । ‘तराईमा दिउँसो घाम नै लाग्न छाडेको छ । जतिखेर पनि हुस्सु–कुहिरो हुँदा अधिकतम तापक्रम निकै घटेको देखिन्छ । यसको अर्थ घाम लागेको छैन, दिउँसो पनि चिसो छ भन्ने देखाउँछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले भने, ‘आकाश खुलेर दिउँसो घाम लागेको भए न्यूनतम तापक्रम (बिहान) झर्दै जान्थ्यो अनि अधिकतम (तापक्रम) धेरै हुँदा साँझ–बिहानबाहेक दिउँसो न्यानो नै हुन्थ्यो । तर, दिउँसो पनि घाम नलाग्दा अधिकतम र न्यूनतमको ग्याप कम भएको हो ।’
जल तथा मौसम विज्ञान विभागले शीतलहर घोषणा गरिसकेको छैन । तर, लगातार रूपमा अधिकतम तापक्रम घट्दै जानु, दिउँसो पनि घाम लाग्न छाड्नुका साथै शीत खसिरहेकाले शीतलहरको अवस्था रहेको बुझ्न सकिन्छ ।
मौसमविद् दाहालले तराई क्षेत्रको आकाश शुक्रबारसम्म खुल्ने सम्भावना नरहेको र हुस्सु र कुहिरोको अवस्था नै रहने बताए । तराई–मधेशमा शीतलहरको अवस्था रहे पनि पहाडीसहित अन्य क्षेत्रमा भने दिउँसोपख घाम लाग्दा अधिकतम तापक्रम घटेको छैन । यद्यपि, साँझबिहान भने ती क्षेत्रमा पनि जाडो बढेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ मा पनि तराईका २१ जिल्ला शीतलहरबाट बढी प्रभावित हुनेमा सूचीकृत छ । शीतलहरबाट जोगिन न्यानो लुगा तथा दाउरा वितरणलाई अन्तिम विकल्पका रूपमा सारिएको छ । शीतलहरबाट १० वर्ष (०७८/०७९)सम्म एक सय ६६ जनाको ज्यान गएको प्राधिकरणको तथ्यांक छ । तर, पछिल्लो समय शव परीक्षण प्रतिवेदनमा शीतलहरका कारण मृत्यु भएको भन्ने व्यहोरा उल्लेख गर्नुपर्ने व्यवस्था राखिएपछि आफूहरूसँग तथ्यांक नरहेको प्रवक्ता शान्ति महतले बताइन् । यसअघि भने प्रहरीबाट प्राप्त तथ्यांकका आधारमा विवरण राखिन्थ्यो । यद्यपि, तराईमा हुस्सु/कुहिरो/शीतलहरबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायतका क्षेत्रमा प्रभाव परेको उनले बताइन् ।
‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ तर्जुमा भई कार्यान्वयन गर्न भनेका छौँ । सम्बन्धित सबै निकायले कार्ययोजनामा उल्लेख भएअनुसार आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘सबै निकायले कार्ययोजनाअनुसार पूर्वतयारी गर्नुपर्ने र कार्यक्षेत्रमा पर्ने प्रभावित जिल्लाका जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वयमा पूर्वानुमानअनुसार आवश्यक पूर्वकार्य एवं प्रतिकार्य गर्नुपर्ने देखिन्छ ।’
अधिकतम तापक्रम ६.३ डिग्री सेल्सियससम्मले झर्यो, अधिकतम र न्यूनतमको दूरी पनि कम
बुधबार धनगढीमा अधिकतम तापक्रम सरदरभन्दा ६.३ डिग्री सेल्सियस (डिसे) कम मापन भएको छ । पछिल्लो ३० वर्षको सोही दिनको अधिकतम तापक्रमबाट निकालिएको औसत नै सरदर हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारका लागि धनगढीको सरदर अधिकतम तापक्रम २२.३ डिसे हो । तर, सरदरभन्दा ६.८ डिसे कम अर्थात् १५.५ डिसे मापन भएको छ । न्यूनतम तापक्रम १२ डिसे मापन हुँदा अधिकतम र न्यूनतमको दूरी ३.५ डिसे मात्र छ ।
त्यस्तै, नेपालगन्जमा अधिकतम तापक्रम १६.२ डिसे मापन भएको छ, जबकि सरदर २२.१ डिसे हो, जुन सरदरभन्दा ५.९ हो । न्यूनतम तापक्रम ११.३ डिसे मापन हुँदा अधिकतम र न्यूनतमको ग्याप ४.९ डिसेमा झरेको छ । भैरहवामा पनि अधिकतम तापक्रम सरदरभन्दा ५.७ डिसे कम मापन भएको छ । बुधबारका लागि यहाँको अधिकतम सरदर तापक्रम २२.९ रहे पनि १७.२ डिसे मात्र मापन भयो । न्यूनतम तापक्रम १२.३ डिसे मापन हुँदा अधिकतम र न्यूनतमको ग्याप ४.९ डिसे मात्र रह्यो ।
पश्चिमभन्दा मध्य र पूर्वी तराईमा भने अधिकतम तापक्रम कम झरेको छ । तर, त्यहाँ पनि शीतलहरको अवस्था छ । विभागका अनुसार बुधबार सिमरामा अधिकतम तापक्रम १८.९ डिसे मापन भएको छ । जुन सरदरभन्दा ४.७ डिसेले कम हो । त्यस्तै, न्यूनतम तापक्रम १३ डिसे मापन हुँदा अधिकतम र न्यूनतमको दूरी ५.९ डिसे मात्र छ ।
जनकपुरमा अधिकतम तापक्रम सरदरभन्दा ४ डिसेले कम मापन भएको छ । यहाँ अधिकतम तापक्रम सरदर २३.९ रहे पनि १९.९ मात्र मापन भएको छ । त्यस्तै, न्यूनतम तापक्रम १३.४ मा झर्दा अधिकतमसँगको दूरी ६.५ डिसे मात्र छ ।
विराटनगरमा पनि अधिकतम तापक्रम ५.९ डिसेले झरेको छ । सरदर २४.८ डिसे रहे पनि बुधबार १८.९ डिसे मात्र मापन भयो । यहाँ न्यूनतम तापक्रम १२.८ मापन हुँदा अधिकतमसँगको दूरी ६.१ डिसे मात्र छ ।
धरान र चन्द्रगढीको सरदर तापक्रम प्राप्त हुन नसके पनि बुधबार अधिकतम तापक्रम घटेको देखिन्छ । धरानमा अधिकतम तापक्रम १९.५ र न्यूनतम तापक्रम ११.५ डिसे मापन भएको छ, जुन दूरी ८ डिसे हो । त्यस्तै, चन्द्रगढीमा अधिकतम र न्यूनतम तापक्रमको दूरी ७.३ डिसे मात्र छ । यहाँ बुधबार अधिकतम १९.२ र न्यूनतम ११.९ डिसे मापन भएको हो ।
प्रभावितलाई जोगाउन विपत् व्यवस्थापन प्राधिकरणको अपिल
- आवश्यक परेमा स्थानीय तहसँग समन्वय गरी संकटासन्न समुदायका घरपरिवारलाई न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्री वितरण गर्ने
- शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित स्थानीय तह र जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्यकेन्द्रित क्रियाकलापमा खर्च गर्ने व्यवस्था मिलाउने ।
- कार्यक्षेत्रअनुसार शीतलहरबाट बच्ने उपायबारे सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने
- जोखिमपूर्ण संकटासन्न समुदायका व्यक्तिलाई आवश्यक परेको खण्डमा न्यानो हुने गरी सार्वजनिक भवन, मठ मन्दिर, घर इत्यादिमा राखे प्रबन्ध गर्ने
- शीतलहरका वेला न्यानो गराउन डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहसँग समन्वय गरी दाउरा उपलब्ध हुने व्यवस्था मिलाउन सहयोग गर्ने
चिसोबाट जोगिन चोक–चोकमा बाल्न थालियो आगो
- लहानमा मणिलाल विश्वकर्मा
चिसोबाट जोगिन सिराहाको लहानसहित ग्रामीण क्षेत्रका चोकचोकमा दाउरा बाल्न थालिएको छ । लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले मानिसको बढी जमघट हुने ग्रामीण चोक, राधाकृष्ण चोक, गणेश चोक, हनुमानस्थान, हुलाक चोक, पूर्व–पश्चिम बसस्टेन्डलगायतका ठाउँमा दाउरा वितरण गरेपछि बाल्न थालिएको बताए ।
‘बढ्दो चिसोबाट सर्वसाधारण नगरवासीलाई जोगाउन तत्कालीन राहतअन्तर्गत बजार क्षेत्रका प्रमुख चोकहरूमा दाउरा वितरणसँगै बाल्न थालिएको छ,’ उनले भने, ‘बजार क्षेत्रसहित ग्रामीण भेगमा पर्ने वडा कार्यालयसँग समन्वय गरेर २४ वटै वडाका अत्यावश्यक ठाउँमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ ।’ उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी पाँच सय परिवारलाई फाइबरको सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ ।
चिसो बढेसँगै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो छल्न ग्रामीण भेगमा सर्वसाधारण बिहानैदेखि घुर तापेर बस्न थालेका छन् ।
