११ पुसदेखि ताप्लेजुङमा पदमबहादुर गुरुङ स्मृति अन्तरक्लब फुटबल

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

स्वर्गीय पदमबहादुर गुरुङको दोस्रो स्मृति दिवसको अवसरमा फुङलिङमा आयोजना हुने अन्तरक्लब स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा १४ वटा क्लब सहभागी हुनेछन्। खेल संयोजक दीपक गुरुङका अनुसार टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ र प्रतियोगिता ११ पुसदेखि सुरु हुनेछ।

समूह ‘ए’ मा आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लब ‘ए’ ले फुङलिङ–४ को साथीभाइ स्पोर्टिङ क्लबसँग उद्घाटन खेल खेल्नेछ। यस्तै, मनमाया स्पोर्टिङ क्लब थुकिमा र फुङलिङ–१० को मिनी स्पोर्टिङ क्लबबिच प्रतिस्पर्धा हुनेछ । नेपाल प्रहरी क्लब फुङलिङ र पिवाइसी क्लब फावाखोला आमनेसामने हुँदा तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को टोली पहिलो चरणमा ‘बाई’मा रहनेछ।

समूह ‘बी’तर्फ गोर्खाली स्पोर्टिङ क्लब फुङलिङ–१ र कर्णसिंह सोनाम फुटबल क्लब फुनपा–५ बिच खेल हुनेछ। कञ्चनजंघा फुङलिङ क्लबले तमू स्पोर्टिङ क्लब फुनपा–९ सँग प्रतिस्पर्धा गर्नेछ भने नवप्रयास युनाइटेड क्लब फुनपा–९ र केलाङ स्पोर्टिङ क्लब फुनपा–७ बिचको खेलपछि आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लब ‘बी’ सिधै अर्को चरणमा प्रवेश गर्नेछ ।

तमू ल्होसारको अवसरमा आयोजना गरिएको प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, उत्कृष्ट खेलाडी, गोलरक्षकलगायत बिधागत पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ।
 

सुझावित समाचार