महोत्तरीको बलवा र लोहारपट्टी नगरपालिकाले जाडो बिदा दिएका छन् । पछिल्लो केही दिनदेखि शीतलहरसँगै चिसो हावा चलेपछि बलवाले दुई दिन र लोहारपट्टी नगरपालिकाले चार दिन बिदा दिएका हुन् ।
बालबालिकाको स्वास्थ्यलाई हेरेर जाडो बिदा दिइएको हो । बलवाले ८ र ९ पुस तथा लोहारपट्टीले ८ देखि ११ पुससम्मका लागि सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द रहने जनाएका छन् ।
चिसो र शीतलहरको अवस्थामा सुधार नभए बिदा लम्बिन सक्ने भए पनि तत्काललाई दुई दिन बिदा दिइएको बलवा नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले बताए ।
उनले यो बिदा बर्खेबिदाबाट कट्टा गरिने बताए । लोहारपट्टी नगरपालिकाले समेत अवस्था हेरी थप निर्णय लिन सक्ने जनाएको छ । महोत्तरीमा पछिल्लो समय शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको हो ।