मनकारी मुख्यमन्त्री, जसले बनाइदिए विपन्न चेपाङलाई घर

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

मकवानपुरको कैलाश गाउँपालिका– ४, धुसरका चेपाङदम्पती लालबहादुर र सानुमायालाई हिउँदमा कठ्यांग्रिने चिसो र बर्खामा पानी चुहिने चिन्ताले पिरोल्थ्यो । अब उनीहरूको चिन्ता हराएको छ । ऐलानी जग्गामा बनाएको छाप्रोमा गुजारा गर्दै आएका उनीहरूले आइतबार पक्की घर पाएका छन् । 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले करिब आठ लाख रुपैयाँका लागतमा जस्तापाताले छाएको तीन पक्की कोठा र एक शौचालयसमेत रहेको घर निर्माण गरिदिएका हुन् । मुख्यमन्त्री बानियाँले आइतबार सो घर लालबहादुर र सानुमायालाई हस्तान्तरण गरे । 

जीर्ण र असुरक्षित घरमा बस्दै आएका ५० वर्षीय लालकुमार र सानुमाया चेपाङ अब सुरक्षित घरमा सरेका छन् । सानै उमेरमा हात जलेपछि आंशिक अपांगता भएकी सानुमायादम्पतीका कुनै सन्तान छैनन् । 

‘हातमुख जोड्नै मुस्किल हुने हामी गरिबको यस्तो घर होला भनेर कल्पनै गरेका थिइनँ,’ सुरक्षित आवास पाएपछि लालबहादुरले भने, ‘अब बर्खामा घरभित्रै पानी चुहिने र चिसोले कठ्यांग्रिनुपर्दैन होला ।’

गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले कार्यभार ग्रहण गर्ने क्रममा आफूले पाउने सेवा–सुविधामा नपुग रकम थपगरी विपन्न चेपाङ परिवारलाई घर बनाइदिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुसार सो घर बनेको हो । 

यसअघि मुख्यमन्त्री बानियाँले आफ्नो सेवा–सुविधाको रकमबाट मकवानपुरको मनहरी गाउँपालिका– ९ की मिठुमाया सुनारलाई करिब सात लाख रुपैयाँ लागतमा घर निर्माण गरी हस्तान्तरण गरिसकेका छन् । राक्सिराङ गाउँपालिका– १ का सुमनसिंह प्रजालाई हस्तान्तरण गर्ने गरी घर निर्माण भइरहेको छ । 

आइतबार घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्र विभिन्न जिल्लामा रहेका घरबारविहीन विपन्नलाई सुरक्षित आवास आवास उपलब्ध गराउन नीतिगत तहमै काम भइरहेको जानकारी दिए । उनले यसका लागि प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । 

‘बागमती प्रदेशभित्रका गरिब, निमुखा, दलित, सीमान्तकृत समुदाय, एकल महिलालगायतलाई समेटेर एक हजार घर निर्माण गरी हस्तान्तरण गर्ने योजनासहित कार्यविधि निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारले अति विपन्नको पहिचान गरी एक हजारवटा घर हस्तान्तरण गर्ने तथा प्रत्येक विपन्न परिवारलाई आयआर्जनका लागि विनाब्याज दुई लाख रुपैयाँ ऋण उपलब्ध गराउने योजना छ ।’ 

मकवानपुरको संघीय निर्वाचन क्षेत्र नम्बर २ को दुईका जनप्रतिनिधिसमेत रहेका मुख्यमन्त्री बानियाँले यस अलावा आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिक गाँस, बास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले काम गरिरहेको बताए । कार्यक्रमकै क्रममा मुख्यमन्त्री बानियाँले चेपाङदम्पतीलाई बाख्रापालनमार्फत आयआर्जन गर्न आग्रह गर्दै नगद २० हजार रुपैयाँ सहयोगसमेत प्रदान गरे । घर निर्माणसँगै ओढ्ने–ओच्छ्याउने तथा लत्ताकपडाको व्यवस्थापन गाउँपालिकाले गर्ने कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।

घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायतले विपन्नलाई सुरक्षित आवास हस्तान्तरणको कार्यको प्रशंसा गरेका थिए ।

आफूले पाउने सेवा–सुविधाबाट विपन्नलाई घर बनाइदिने मुख्यमन्त्री बानियाँको प्रतिबद्धतापछि कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेको र निर्माण सकेर आइतबार हस्तान्तरण गरिएको नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए ।

सुझावित समाचार