नेपाल क्रिकेट संघ (क्यान)ले आगामी आइसिसी पुरुष टी–२० को लागि प्रारम्भिक टोली घोषणा गरेको छ । आइतबार क्यानले २४ खेलाडीलाई पहिलो प्रशिक्षणको लागि बोलाएको हो ।
क्यानले बोलाएको सूचीमा उपाधि विजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलसहित उपविजेता भएको सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारी र बलर अभिनाश बोहोरालाई पनि कल गरिएको छ । यस्तै, इमर्जिङ प्लेयर शेर मल्लले पनि स्थान बनाएका छन् । खराब प्रदर्शन गरेका ललित राजवंशीलाई पनि प्रशिक्षक स्टुआर्ट लले मौका दिएका छन् । अनिलकुमार शाहले भने प्रारम्भिक चरणमै स्थान पाएनन् ।
विनोद सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका थिए । उनले ९ इनिङ्समा २६४ रन बनाएका हुन् । रोहितले २७६ रन बनाएर दोस्रो स्थानमा थिए । पोखराका विदेशी खेलाडी एडाम रोसिंघटनले ३२३ रन बनाएका हुन् । विनोदले एनपिएलमा जस्तोसुकै प्रदर्शन गरेपनि त्यसले राष्ट्रिय टिमको छनोटमा केही फरक नपर्ने दावी गरेका थिए ।
बलिङतर्फ अभिनाशले सन्दीप लामिछाने र शेर मल्लसँगै समान १७ विकेट लिएका थिए । सन्दीप शीर्ष स्थानमा रहँदा बाइक जितेका थिए । अभिनाश भने दोस्रो स्थानमा थिए ।
नेपालले विश्वकपमा दुईपटकको च्याम्पियन वेष्ट इन्डिजसँगै इंग्ल्यान्ड, बंगलादेश र इटालीसँग खेल्ने तालिका रहेको छ । योपटकको विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ ।
रोहित, विनोद र अविनाशसँगै टिममा दीपेन्द्रसिंह ऐरी, सन्दीप, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलाम, करण केसी, शाहव आलम, शेर मल्ल, भिम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रुपेशकुमार सिंहले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।