तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत आइतबार जुडो र तेक्वान्दोको प्रतिस्पर्धा सम्पन्न भएको छ । जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन भइरहेको तेक्वान्दोअन्तर्गत छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहको नतिजाको आधारमा छात्रातर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र जुपिटर स्कुल तृतीय भएका छन् । छात्रतर्फ जेम्स स्कुल प्रथम, लाइफ भिजन स्कुल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भए ।
प्रतिस्पर्धामा जुपिटर स्कुलकी रिकिशा लोले छात्रातर्फ उत्कृष्ट फाइटरको सम्मान प्राप्त गरिन् भने जेम्स स्कुलका स्लोक सुवेदीले छात्रतर्फ उत्कृष्ट फाइटरको उपाधि जिते । यस्तै, जुडोको छात्रा र छात्रतर्फ विभिन्न केजी तौल समूहमा भएको नतिजापछि अंकको आधारमा छात्रतर्फ जेम्स स्कुल प्रथम, बाल विकास स्कुल दोस्रो र हार्दिक एकेडेमी तेस्रो स्थान हात पार्न सफल भएका छन् । त्यस्तै, छात्रातर्फ बाल विकास स्कुल प्रथम, जेम्स स्कुल दोस्रो र नेपाल युवक स्कुलले तेस्रो स्थान हात पारे ।
उक्त स्पर्धामा बाल विकास स्कुलकी अलिशा परियारले छात्रातर्फ उत्कृष्ट खेलाडी भइन् भने जेम्स स्कुलका आर्यन खड्काले छात्रतर्फ उत्कृष्ट खेलाडीको उपाधि जिते । देशभरिका एक सय सात विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको बृहत् विद्यालय खेलकुद यही ९ पुसमा सम्पन्न हुनेछ ।