आक्रामक अभियानमा रवि, चितवनबाट दिए चेतावनी- जनविद्रोहलाई नजिस्क्याउनु, संसद् ब्युँताउने दुस्साहस नगर्नु

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

न्यायिक आदेशबाट थुनामुक्त भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले तीव्र राजनीतिक अभियान सुरु गरेका छन् । पक्राउ परेको आठ महिनापछि शुक्रबार भैरहवाबाट रिहा भएका उनी शनिबार चितवन र काठमाडौंका राजनीतिक गतिविधिमा सक्रिय बने । पार्टीको मूल नेतृत्वको कमान्ड पुन: सम्हाल्दै उनले संगठनलाई प्रत्यक्ष नेतृत्व गर्दै छन् । 

शुक्रबार रिहा भएलगत्तै चितवन पुगेका उनले शनिबार कार्यकर्तासहितको ठुलो जनसमूहलाई सम्बोधन गरे । त्यसपछि काठमाडौं फर्केर उनले जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँग छुट्टाछुट्टै भेटवार्ता गरे । चितवन र काठमाडौंमा भएका बेग्लाबेग्लै सम्बोधनमा लामिछानेले सहिदको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए । 

चितवनमा कार्यकर्ता र जनसमूहलाई सम्बोधन गर्दै लामिछानेले सरकार, नयाँ दलहरूसँगको एकता र जेन–जी आन्दोलनबारे बोलेका थिए । लामिछानेले आगामी चुनाव नेपालको भविष्यका लागि महत्वपूर्ण रहेको बताए । ‘तपाईं–हाम्रो भविष्यका लागि अत्यन्तै महत्वपूर्ण चुनाव हो । समयमा चिर्वाचन गर्न सरकारलाई हाम्रो साथ छ । मैले प्रधानमन्त्रीको अनुहार अँध्यारो देखिरहेको छु । अनुहारमा हाँसो ल्याउनुस् प्रधानमन्त्रीज्यू,’ उनले भने । 

लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई सुशासनको डन्डा चलाउन र निर्वाचनका लागि प्रतिबद्ध रहन अनुरोध गरेका छन् । ‘प्रधानमन्त्रीज्यू, तपाईं सुशासनको डन्डा चलाउनुस्, रास्वपा तपाईंको साथमा छ । तपाईं न्यायको मूर्ति हो, धेरैलाई अदालतबाट न्याय दिनुभएको छ,’ उनले भने, ‘अब देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ । रत्तिभर खुट्टा नकमाउनुस् । एक बारको जुनी हो, धेरै भए नक्खु जेलमा जाने त हो, के चिन्ता गर्नुहुन्छ ।’

नयाँ दलहरू मिल्नुपर्ने सर्वसाधारणको सुझावबारे सम्बोधन गर्दै उनले चुनावकेन्द्रित एकता भने गर्न नसकिने स्पष्ट पारे । ‘मिल्नुपर्नेहरू जो–जो हो, हामी मिलेरै छाड्छौँ, चिन्ता नगर्नुहोस् । सबै साथीहरू संवादमा हुनुहुन्छ, देश बन्नुपर्‍यो,’ उनले भने, ‘तर, मिल्ने भनेको टाउको ठोकेर मित लगाएजस्तो होइन । एउटा चुनावका लागि मिल्ने होइन । सिंगो पुस्ताको भविष्यका लागि मिलिरहने हो भने मिलौँ । यसका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । एउटा चुनावका लागि हो भने–आई एम सरी ।’ 

काठमाडौंमा सहिद परिवारसँगको भेटमा पनि लामिछानेले यी विषय उठाएका थिए । ‘तपाईंहरूले पनि नयाँ साथीहरू मिल्नुपर्छ भन्नुभएको छ । हामी मिल्न तयार छौँ । तर, चुनावमा जाने विषय उठाएर, चुनावी मुद्दाका लागि होइन, तपाईंको परिवारलाई न्याय गर्नका लागि मिल्नेछौँ,’ लामिछानेले भने । 

रास्वपाले जेन–जी पुस्ताको साथ लिएर देश निर्माणको नेतृत्व गर्ने उनले बताए । ०८४ को निर्वाचनको तयारीमा जुट्दा जेन–जी पुस्ताले नयाँ अवसर प्रदान गरेको लामिछानेले बताए । ‘हामी चुनावको पर्खाइमा थियौँ । तर, जेन–जीले बिचमै सरकारलाई तागत देखाइदियो,’ उनले भने । 

देशको वर्तमान संरचना जलेको जस्तै भएको टिप्पणी गर्दै लामिछानेले राज्यले नागरिकका सपना खोसिरहेको आरोप लगाए । ‘सिंहदरबार बनाउँला, न्यायालय बनाउँला, तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ?’ उनले प्रश्न गर्दै भने, ‘हामी बनाउँछौँ । जेन–जीको साथ बोकेर अब देश बनाउने काममा लाग्छौँ ।’ 

प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि मन्त्री नबन्ने प्रश्न उठेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध सधैँ उभिने प्रतिबद्धता व्यक्त गरे । ‘सांसद भए पनि मन्त्री बन्न पाउने–नपाउने महत्वपूर्ण छैन । मान्छे भएर बाँच्दा पनि म भ्रष्टाचारीविरुद्ध सधैँ उभिनेछु,’ उनले भने ।

जेन–जी विद्रोहलाई नजिस्क्याइयोस् 
लामिछानेले २३–२४ भदौको जेन–जी विद्रोहलाई अवमूल्यन नगर्न चेतावनी दिए । ‘२४ भदौमा केही घुसपैठिया आए होलान् । तर, मुख्यत: अघिल्लो दिन (२३ भदौ) ताकी–ताकी गोली खाएर ढलेका मानिस देखेर आक्रोशित जनताले घरघरबाट विद्रोह गरेका हुन् । त्यो जनताको विद्रोह हो । खबरदार ! त्यो विद्रोहलाई कतै कुनामा पसेर जिस्क्याउने, चलाउने आँट नगर,’ एमाले अध्यक्ष केपी ओलीको नामै नलिई लामिछानेले भने । उनले आफूलाई मुद्दा लगाएर फसाउने सरकारको भागाभाग भएको पनि बताए । ‘प्रतिशोध साँध्ने सरकार हेलिकोप्टरमा झुन्डिएर भाग्नुपर्‍यो,’ उनले भने ।

संसद् पुनर्स्थापनाको कडा विरोध
कांग्रेस–एमालेले संसद् पुनर्स्थापनाका लागि प्रयास गरिरहेका वेला सभापति लामिछानेले संसद् ब्युँताउने प्रयास नगर्न चेतावनी दिए । ‘जनताको विद्रोहलाई चुनौती दिन भन्दै संस्द ब्युँताउने हो कि भनेर आँखा चम्काउने वा नचाउनेहरू, होसियार । सहिदको रगत सुकेको छैन । सहिदकी आमाको आँखा अझै ओभानो भएको छैन । धेरै आँखा नचम्काउनुहोला,’ सभापति लामिछानेले भने । 

नक्खुबाट निकालेर मिडियाबाजी गरियो
सभापति लामिछानेले आफूलाई २४ भदौमा नक्खु प्रशासनले हात जोडेर बाहिर निकालेको, तर पछि मिडियाबाजी गरेको टिप्पणी गरे । ‘नक्खुमा एउटा परिस्थिति बन्यो । मलाई हात जोडेर तपाईं गइदिनुपर्‍यो भनेर निकालियो । पछि मिडियाबाजी गरे,’ उनले भने, ‘ठिक छ, केही छैन, म सहन्छु । मलाई कालकुट विष खाने बानी परिसकेको छ । अरू दुई थोपा विष हालेर म मर्दिनँ ।’

सहिद परिवारलाई भेट्दा भक्कानिए, न्यायका लागि सँगै लड्ने वाचा 
काठमाडौं उत्रिएलगत्तै सभापति लामिछानेले जेन–जी आन्दोलनका सहिद परिवारसँग भेट गरेका छन् । बबरमहलस्थित जेन–जी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा परिवारजनसँगको कुराकानीमा उनले बालबालिकाको हत्या गर्नेलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय अदालतमा उभ्याइने प्रतिबद्धता जनाए । 

‘म घुमाउरो ढंगले मिलाएर बोल्न जान्दिनँ, यिनीहरूले मलाई जेसुकै गरून् । यिनीहरू (कांग्रेस–एमाले सरकार)ले बच्चा मारेका हुन् । यसलाई मैले भोटको विषय बनाएँ भने पाप लाग्छ । त्यसकारण म कहिल्यै पनि यसो गर्नेछैन,’ लामिछानेले भने, ‘म नक्खु गए नि जाउँला, सेन्ट्रल जेल गए नि जाउँला । मलाई केही छैन, म न्यायको पक्षमा लड्नेछु । पार्टी सभापतिका रूपमा, व्यक्तिका रूपमा र भोलि निर्वाचित भइसकेपछि जुन अवस्थामा हामी पुग्छौँ त्यो अवस्थाबाट अन्तिमसम्म तपाईंहरूका तर्फबाट लड्नेछु ।’ 

बालबालिकालाई टाउको र छातीमा ताकेर गोली हानिएको भन्दै उनी सम्बोधनका क्रममा भक्कानिएका थिए । ‘म जेलबाट निस्केर घरको दैलो टेकेको छैन । म तपाईंहरूकहाँ आएको छु । मेरा ठाउँठाउँमा मुद्दा छन्, के हुन्छ थाहा छैन,’ उनले भने, ‘तर, मलाई यी भाइबहिनीहरूले न्याय पाउनुपर्छ भन्ने थाहा छ । देशको कुण्डमा तपाईंहरूका छोराछोरी चढेका छन्, यो खेर जाँदैन । हामी खेर जान दिँदैनौँ,’ उनले भने । 

लामिछानेले २३ भदौको घटनालाई कत्लेआमको संज्ञा दिए र त्यसका विरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाए । ‘त्यस दिन (२३ भदौमा) भएको आमहत्या हो । टाउको–छातीमा हानिएको छ । भिडन्त होइन । कत्लेआम हो । मैले देखेको छु । तर, गर्न सक्ने ठाउँमा म थिइनँ । तपाईंहरूको आँखा पत्रिकामा देखेँ,’ भावुक भएर लामिछानेले भने, ‘मेरो क्षमता, पार्टीको क्षमता कति हुन्छ थाहा छैन । तपाईंहरूलाई साथ दिन्छौँ । नआत्तिनुस् एउटा छोरा गुमाउनुभयो, यहाँ अरू लाखौँ छोरा जिउँदै छन् । एक थोपो रगत खेर जान दिँदैनौँ, तपाईंहरूको साथमा छौँ ।’

See More On

सुझावित समाचार