पर्यटक भिसामा नेपालमा बसेर अपराधिक गतिविधिमा संलग्न एक चिनियाँ नागरिक जेल चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंले ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
प्रहरी वृत्त स्वयम्भूले गत ५ कात्तिकमा उनलाई स्रोत नखुलेको सम्पत्तिसहित सानो भर्याङबाट पक्राउ गरेको थियो। चिनियाँ नागरिकसहित नेपाली युवती धादिङकी रोजिना सुनारलाई समेत प्रहरीले प्रतिवादी बनाएर मुद्दा चलाएको थियो।
अनुसन्धानको क्रममा याङसँग एक करोड ८६ लाख ४२ हजारबराबरको स्रोत नखुलेको भेटिएको थियो। त्यसमध्ये अधिकांश सम्पत्ति उनले सुनारको नाममा राखेका थिए ।
नेपाली युवतीलाई उनले करिब १४ तोला सुन किनिदिएका थिए। त्यस्तै, युवतीकै नाममा एक गाडीसमेत खरिद गरेका थिए। गाडी र सुनसहित प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीहरूबाट ६९ लाख ८५ हजार स्रोत नखुलेको नगदसमेत भेटिएको थियो। अनुसन्धानको क्रममा युवतीको खातामा २२ लाख नगद भेटिएको थियो। त्यो रकम आफूलाई चिनियाँ नागरिकले नै राख्न दिएको बयान युवतीले गरेकी छिन्। गाडीको मुल्याङकन ३० लाख गरेर उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। जसमा चिनियाँ नागरिक जेल चलान भएको र नेपाली युवती भने दुई लाख धरौटीमा छुटेको प्रहरी वृत्त स्वयम्भूका डिएसपी मोहनमणि अधिकारीले बताए।
प्रहरी अनुसन्धानमा हुन्डी, अनलाइन ठगी लगायत आपराधिक गतिविधिबाट कमाएको देखिएको थियो । बयानको क्रममा भने उनीहरुले वीच्याटमा लाइभ बसेर कमाएको भनेर बताएका थिए।