वैदेशिक रोजगारमा रहेका श्रमिकलाई छुट्याएको प्राथमिक सेयर (आइपिओ) महँगो मूल्यमा निष्कासन र बिक्री गरिसकेपछि धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्समाथि छानबिन सुरु गरेको छ । अर्थ मन्त्रालयले बिहीबार कम्पनीको आइपिओविरुद्ध उजुरी परेकाले छानबिन गर्न निर्देशन दिएपछि बोर्डले शुक्रबार समिति गठन गरेको हो ।
बोर्डले विज्ञप्ति जारी गर्दै रिलायन्सको सेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्ने सम्बन्धमा भएका काम–कारबाहीलाई लिएर छानबिन गर्न १५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरेको जानकारी दिएको छ । बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्दराज शर्मा वाग्ले र पीताम्बर भण्डारी सदस्य रहने गरी समिति बनाइएको छ । समितिलाई आवश्यकताअनुसार अन्य विज्ञलाई समेत आमन्त्रित गर्न सक्ने सुविधा पनि दिइएको छ ।
बोर्डले छानबिन समिति गठन गर्नुअघि रिलायन्स स्पिनिङले वैदेशिक रोजगारमा रहेका श्रमिकलाई प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाका दरले एक लाख १५ हजार पाँच सय ९६ कित्ता सेयर बिक्री गरिसकेको छ । ३५ हजार एक सय दुईजनाले आवेदन दिएमध्ये दुई हजार तीन सय ११ जनाले पाइसकेका छन् । आवेदन दिनेमध्ये ४६ जनाले ५१ कित्ताका दरले र अन्यले ५० कित्ताका दरले सेयर पाएका छन् ।
महँगो मूल्यमा सेयर निष्कासन गरेको जिषयमा रिलायन्सविरुद्ध परेको रिटमा शुक्रबार सर्वाेच्च अदालतले मागबमोजिम आदेश दिन भने अस्वीकार गरेको छ । योसँगै रिलायन्सले जारी गरेको आइपिओले वैधता पाएको छ ।