बर्दियाको मध्यवर्ती र सामुदायिक वन क्षेत्रआसपास बसोबास गर्ने किसान तोरी खेतीतिर आकर्षित हुन थालेका छन् । गहुँखेती गर्दा चित्तल, रतुवा, नीलगाई, हात्तीले खाने हुँदा मध्यवर्ती र सामुदायिक वन क्षेत्रआसपास बसोबास गर्ने किसान तोरी खेतीतिर आकर्षित हुन थालेका हुन् ।
किसानले परम्परागत रूपमा गर्दै आएको गहुँखेती गर्दा निकुञ्ज र सामुदायिक वनबाट आएर हात्ती, चित्तल, नीलगाई, हात्तीलगायत वन्यजन्तु आएर खान थालेपछि नगदे बालीको रूपमा रहेको तोरी खेतीतर्फ किसानको आकर्षक बढेको हो ।
वनबाट आउने वन्यजन्तुले गहुँ खाने हुँदा घाटा लाग्न थालेपछि विगत दुई–तीन वर्ष अगाडिबाट तोरी खेती गर्न थालेको मधुवन नगरपालिका– १ का किसान चन्द्रबहादुर चौधरीले बताए । उनले भने, ‘पहिला यसरी वन्यजन्तुले खेतबारीमा आएर अन्नबाली खाँदैनथे । तर, पछिल्लो समय हात्ती, चित्तल, रतुवालगायतका वन्यजन्तु खेतबारीमा आएर गहुँ धानजस्ता बाली खान थालेपछि तोरी लगाउन थालेको हो । तोरीलाई वन्यजन्तु खाँदैनन्, त्यही भएर वैकल्पिक खेतीको रूपमा तोरी लगाएको हो । तर, कहिलेकाहीँ खेतको बाटो भएर हात्ती हिँड्ने गर्छ, यसरी हात्ती हिँड्दा केही नोक्सानी हुने गरेको छ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको तथ्यांकअनुसार बर्दियामा आर्थिक वर्ष ०८०/८१ मा नाै हजार ६८० हेक्टर तोरीखेती भएको छ भने आर्थिक वर्ष ०८१/८२ मा नाै हजार ७६७ हेक्टर तोरीखेती भएको छ ।
विगतको वर्षमा भन्दा पछिल्लो समय तोरी खेतीको क्षेत्र विस्तार हुँदै गएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत एवं सूचना फिर्तुमान चौधरीले बताए । उनले भने, ‘चालू आर्थिक वर्ष ०८२/८३ मा करिब १० हजार हेक्टर तोरीखेती भएको छ ।’ बर्दियाको माटोको प्रकृति फरक–फरक भएको हुँदा किसानले सुर्खेत लोकल, मोरङ- २, उन्नति, प्रिती र विकास जातको तोरी लगाएका छन् । यहाँको माटो पाँगाे र स्वस्थकर छ भने सिँचाइको पनि राम्रो व्यवस्थापन भएको हुँदा तोरीको उत्पादन राम्रो हुने देखिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले तोरी खेती लगाउँदा वन्यजन्तुले तोरी नखाने हुँदा यसले मानव वन्यजन्तुको सहअस्तित्व कायम हुने र मानव र वन्यजन्तुको बिचमा हुने द्वन्द्वसमेत रोकिने बताए । उनले भने, ‘तोरीखेती गर्दा किसानको अन्नबाली हानि नहुँदा किसानलाई फाइदा पुग्छ भने तोरीखेती गर्दा मौरीपालन पनि गर्न सकिन्छ । र, किसानले दोहोरो फाइदा पनि लिन सक्छन् ।’